तपाईँ सुन्दै हुनुहुन्छः

निजामती सेवा निष्पक्ष र परिमाणमुखी हुनुपर्छ : मुख्य सचिव

काठमाडौँ । मुख्यसचिव शंकरदास बैरागीले निजामती सेवा निष्पक्ष र परिमाणमुखी हुनुपर्ने बताउनुभएको छ ।  निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिद्वारा  आज सिंहदरबारमा आयोजित  कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले  सेवा प्रवाहमा देखिएको समस्यालाई  पहिचान गरेर अगाडि बढ्न आग्रह गर्नुभयो । 

“हामीले खोजेको सुशासन हो । त्यो कसरी प्राप्त गर्नेमा  कर्मचारी हुनुपर्दछ”, उहाँले भन्नुभयो, “कर्मचारीले कानूनले बन्देज गरेका काम गर्न हुँदैन ।” मुख्यसचिव बैरागीले निजामती कर्मचारी आलोचित हुने गरेको जनाउँदै आलोचनालाई चिर्दै आफ्नो कामलाई सदाचारिता र इमानदारिताका साथ गर्नुपर्ने भनाइ राख्नुभयो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले जनता र कर्मचारीबीच देखिएको खाडल हटाउनुपर्ने बताउनुभयो । उहाँले निजामती सेवा ऐन कार्यान्वयन भएपछि सङ्घ, प्रदेश र स्थानीय तहको दरबन्दी पुनरावलोकन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार अहिले एक लाख ३९ हजार १९८ दरबन्दी रहेकामा एक लाख नौ हजार ५०८  सेवारत छन् । 

निजामती कर्मचारीको सङ्गठन आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलले कर्मचारीलाई उत्प्रेरणा दिन खालका कार्यक्रम ल्याउन माग गर्नुभयो । पूर्वकर्मचारी सेवा परिषद्का कार्यवाहक अध्यक्ष बालकृष्ण प्रसाईँले संविधानमा पूर्वराष्ट्रसेवक कर्मचारीको ज्ञान, क्षमतालाई उपयोग गर्ने भनेता पनि सरकारले अझै नगरेको गुनासो गर्नुभयो । 

मुख्य सचिव बैरागीले सो अवसरमा विसं २०७६ र २०७७ मा घोषणा गरिएका  निजामती सेवा पुरस्कार वितरण गर्नु भएको थियो । सरकारले प्रत्येक वर्ष एक जनालाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार गर्दै आइरहेको छ । यस्तै निबन्ध र हाजिरी जवाफ प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृत गरिएको थियो । 

सोही कार्यक्रममा यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम घोषणा गरिएको थियो । यस वर्ष कोही पनि कर्मचारीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउन सकेनन् । सरकारले यस वर्ष दिवसको नारा ‘व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने रहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button