कञ्चनपुरको भीमदत्तमा अनलाइनबाट कर तिर्न सकिने

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको सेवा प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन कञ्चनपुरको भीमदत्त नगरपालिकाले अनलाइन करदाता ‘पोर्टल’ तयार गरेको छ ।
नगरपालिकाले करदाता पोर्टल सञ्चालनमा ल्याएको हो । नगरपालिकाका सूचना अधिकृत सुरेशप्रसाद भट्टले अनलाइनबाट सेवाग्राहीले कर भुक्तानी गर्न सक्ने गरी पोर्टल सञ्चालन गरिएको बताउनु भएको छ । उहाँले भीमदत्त करदाता पोर्टलमार्फत नगरवासीले घरमै बसेर कर तिर्न सक्ने बताउनु भयो । साथै उहाँले करदाताले व्यक्तिगत, सम्पत्ति, कर तिर्नुपर्ने तथा कर तिरेका लगायतको विवरण कर अनलाइन पोर्टलमा हेर्नसमेत सक्ने सुविधा थपिएको जानकारी गराउनु भएको छ ।
सफ्टवेयरमा करदाताको रूपमा दर्ता भएपछि निजको आधिकारिक आठ अङ्कको करदाता सङ्केत नम्बर प्राप्त हुन्छ । त्यसपछि कर पोर्टलमा इन्टरनेटको पहुँचबाट आफ्नो आधिकारिक युजर र पासवर्ड राखी प्रयोगकर्ता दर्ता गरी आफ्नो विवरण हेर्नुका साथै कर भुक्तानी गर्न सक्ने नगरपालिकाले जनाएको छ। अनलाइन करदाता पोर्टल सञ्चालनमा आएसँगै नगरवासीले राजस्व तिर्न नगरपालिका धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।
त्यसै गरी नगरपालिकाले गत आर्थिक वर्षमा रु २३ करोड ३१ लाख ७२ हजार ७०० आन्तरिक आय (राजस्व) सङ्कलन गरेको छ । नगरपालिकामा जनप्रतिनिधि आइसकेपछि यहाँ राजस्व सङ्कलनको दायरा बढ्दै गइरहेको छ ।
नगरपालिकाले पछिल्लो समय वडा कार्यालय भवन धमाधम निर्माण गरेपछि सेवाग्राहीलाई सहज भएको छ । नगरपालिकाले जैविक, शुक्लाफाँटा पर्यटन मार्गलगायतका आफ्नै लगानीमा सडक निर्माण गरेपछि ग्रामीण स्तरसम्म यसको सञ्जाल विस्तार गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्