राष्ट्रसेवक कर्मचारी सेवा प्रवाह र नीति कार्यान्वयनमा खरो उत्रनुपर्छ : मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारी सेवा प्रवाह र नीति कार्यान्वयनमा खरो उत्रनुपर्ने बताउनुभएको छ । १८ औँ निजामती सेवा दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर हुने बताउनुभयो ।
निजामती सेवालाई थप व्यावसायिक र सृजनशील बनाउने तथा विकास, समृद्धि र सुशासन प्रवर्द्धनमा सबै निजामती कर्मचारी ऐक्यबद्ध रूपमा परिचालित भई सरकारको नीति कार्यान्वयनमा प्रतिबद्ध हुनु आवश्यक रहेको शुभकामना सन्देशमा भनिएको छ ।
गण्डकी प्रदेश सरकार निजामती कर्मचारीको वृत्ति विकास र उत्प्रेरणा अभिवृद्धिमा सदा सकारात्मक रहँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले सार्वजनिक सेवा प्रवाह र सरकारको नीति कार्यान्वयनमा विगतमा जस्तै प्रभावकारी भूमिका निर्वाह गर्न अनुरोध गर्नुभएको छ ।
निजामती सेवा दिवसका अवसरमा मुख्यमन्त्री पोखरेलले पोखराको वसुन्धरा पार्क नजिकै वृक्षारोपण गर्नुभएको छ । निजामती सेवा दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा उहाँले वृक्षारोपण गर्नुभएको हो । सो अवसरमा सडक किनारमा कोइरालो, टाँकीलगायत बिरुवा रोपिएको थियो ।
कार्यक्रममा प्रमुख सचिव डा दामोदर रेग्मी, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकाल, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बराल, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन कास्की अध्यक्ष भरत भुसाल लगायतको सहभागिता थियो । उक्त अवसरमा कार्यालय व्यवस्थापन र सेवा प्रवाहमा उत्कृष्ट ठहरिएका तीन वटा कार्यालय, पोखरा महानगरपालिका–२४ कार्यालय, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखरा र सङ्घीय आयोजना कार्यान्वयन इकाई (सहरी विकास) पोखरालाई सम्मान गरिएको थियो । मुख्यमन्त्री पोखरेलले ती कार्यालयका प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्