अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम भारत लाने ट्रक नियन्त्रणमा

बनियानी । झापाको पूर्वी नाका काँकडभिट्टामा नेपालबाट भारततर्फ अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम पदार्थको लागिरहेको अवस्थामा एउटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान नेपाल प्रवेश गरेको डब्लुबी७४डी २४४१ नम्बरको खाली मिनी ट्रक डिजेल हालेर पुनः भारत जान लागेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले दिउँसो मेची पुल नजिकैबाट उक्त ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल प्रवेश गरेको भारतीय ट्रक सामान नै लोड नगरी ट्रकमा जडान गरिएको अतिरिक्त पेट्रोलियम पदार्थको ट्याङ्कीमा मेचीनगर–६ स्थित पूर्वाञ्चल पेट्रोल पम्पबाट ५५० लिटर डिजेल हालेर फर्किएको थियो । सो सूचना पाएपछि प्रहरीले ट्रक, ट्रक चालक भारत पश्चिम बङ्गाल नक्सलबारीका ३० वर्षीय विकास दास र सहचालक सोही स्थानमा ३४ वर्षीय सुजल साहलाई नियन्त्रणमा लिएको छ भने रू सात लाख मूल्याङ्कन तोकेर सोमबार नै मेची भन्सार कार्यालय बुझाइएको छ ।
भारतको पश्चिम बङ्गालभन्दा झापामा प्रतिलिटर डिजेलको मूल्य ३५ रुपैयाँ ३१ पैसा सस्तो छ । भारतको पश्चिम बङ्गालमा डिजेल प्रतिलिटर भारु ९१ रुपैयाँ ७१ पैसा (नेपाली १४६ रुपैयाँ ७३ पैसा) पर्छ भने झापामा डिजेल प्रतिलिटर १११ रुपैयाँ ५० पैसामा पाइन्छ । यो घटना सार्वजनिक भएसँगै झापामा पेट्रोलियम पदार्थ तस्करीको नयाँ शैली देखिएको छ । घटना सार्वजनिक भएसँगै यस्ता सवारी साधानमाथि निगरानी बढाउने प्रहरी अधिकारी बताउँछन् ।








प्रतिक्रिया राख्नुहोस्