‘मुक्त हलिया परिवारको पुनर्स्थापनाका लागि प्रदेश सरकारको जोड’

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त हलिया परिवारको पुनर्स्थापनाका लागि प्रदेश सरकारले जोड दिएको बताउनुभएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ सीता बस्तीमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले सोमबार आयोजना गरेको १३ औँ हलिया मुक्ति दिवस कार्यक्रममा मुख्यमन्त्री भट्टले सङ्घीय सरकार र स्थानीय तहहरूसँग समन्वय गरी प्रदेश सरकारले मुक्त हलियाका समस्या समाधान गर्ने बताउनुभयो । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरूमा पुनः स्थापना हुन छुट भएका मुक्त हलिया परिवारहरूको विवरण रुजु गरी पुनर्लेखन गर्ने कुरामा प्रदेश सरकार सकारात्मक रहेको मुख्यमन्त्री भट्टले बताउनुभयो ।
उहाँले मुक्त हलिया परिवारका सदस्यलाई स्वरोजगार बनाउन र व्यवसाय गर्नका लागि सहुलियत ऋण उपलब्ध गराउने प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई यथाशीघ्र कार्यान्वयन गरिने प्रतिबद्धता पनि जनाउनुभएको छ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनार, पूर्व सांसद हरि श्रीपाइली लगायत स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
वि.सं. २०६५ भदौ २१ गतेका दिन नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्