तपाईँ सुन्दै हुनुहुन्छः

दोदा नदीमा छ वर्षसम्म पनि पक्की पुल बन्न सकेन

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा छ वर्षअघि ठेक्का सम्झौता भएको पक्की पुलको निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । विसं २०७२ पुषमा २४ करोड ५३ लाखको लागत सम्झौता भएको सो पुल निर्माणका क्रममा समस्या देखिएपछि अलपत्र परेको हो ।

लालझाडी गाउँपालिकाको वाणी–देखतभुली–पर्सिया जोड्ने सडक खण्डअन्तर्गत दोदा नदीमा पक्की पुलको फाउण्डेशनमै प्राविधिक समस्या देखिएपछि पुलको डिजाइन पुनः बनाएर सडक विभागमा पठाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकृत लक्ष्मण जोशीले बताउनुभएको छ । उहाँले दशैँलगत्तै निर्माण कम्पनीले आफ्नै लगानीमा पुल बनाउने बताउनु भएको छ ।

दुई लेनको २०० मिटर पुल समयमा नबन्दा यहाँको लालझाडी गाउँपालिकाका नागरिकले सबैभन्दा बढी सास्ती खेप्नुपरेको छ । प्राविधिक समस्या देखिए पनि पुल निर्माण विसं २०७५ यता हुन सकेको छैन । पुलका चार वटा पिलर निर्माण भए पनि अब नयाँ ठाउँमा निर्माण व्यवसायीले आफ्नै खर्चमा बनाउनुपर्ने भएको सूचना अधिकृत जोशीले बताउनु भयो ।

भौगोलिक रूपमा विकट मानिएको लालझाडीमा विकास निर्माणको गति अन्यत्रभन्दा सुस्त हुँदा त्यहाँका नागरिक समस्यामा छन् । सो पुल नबन्दा स्थानीयवासी नदी तर्न रकम तिर्न बाध्य छन् । नदी तार्न यहाँ ट्युब राखिएको छ । 

लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायकले पुल नबन्दा गाउँपालिकाका १८ हजार नागरिक पूर्वपश्चिम राजमार्गसित जोडिन नपाएको बताउनु हुन्छ ।  अध्यक्ष बडायकले राजमार्गसित जोड्न नजिकको बाटो त्यही पुल भएर नै जाने भएकाले निर्माण व्यवसायीले नै पुल बनाएर दिने कुरो सुने, त्यो समयमा हुनु पर्ने बताउनुभयो । दोदा नदिको उक्त पुलको लुम्बिनी–राजेन्द्र–कुमार श्रेष्ठ जेभीले निर्माणको जिम्मा पाए पनि पुल भने राजेन्द्र निर्माण सेवाले बनाइरहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button