तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा १३ जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा

अछाम । अध्यादेशबाट नेकपा एमाले विभाजन भएपछि अछाममा हालसम्म १३ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । निर्वाचन कार्यालय अछाममा पुगेर जिल्लाका विभिन्न पालिकाका जनप्रतिनिधिले नेकपा (एमाले) बाट एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । सोमबार (आज) सम्म एक नगरप्रमुख, एक उपप्रमुख, एक वडा अध्यक्ष, १ जना गाउँ कार्यपालिका सदस्य र नौ जना वडा सदस्य गरी १३ जनाले सनाखत गरेका निमित्त निर्वाचन अधिकारी गजेन्द्रबहादुर थारुले जानकारी दिनुभयो । 

जिल्ला निर्वाचन कार्यालय अछाममा पुगेर साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर, उपप्रमुख विर्मलादेवी बुडथापा, चौरपाटी गाउँपालिका–४ पायलका वडा अध्यक्ष हर्क लुहारले नेकपा एकीकृत समाजवादीमा सनाखत गर्नुभएको छ । यस्तै मेल्लेख गाउँपालिकाका केही वडा सदस्यले पनि समाजवादी पार्टी रोजेका छन् । 

“हाम्रो कार्यालयमा अहिलेसम्म १३ जनाले समाजवादी पार्टीमा सनाखत गरेका छन् ।” निमित्त निर्वाचन अधिकारी थारुले भन्नुभयो । माधवकुमार नेपालको नेतृत्वमा जाने अधिकांश जनप्रतिनिधि वडा सदस्य रहेका छन् । रामारोशन गाउँपालिकाका एक जना गाउँ कार्यपालिका सदस्यले पनि आज समाजवादीमा सनाखत गरेको कार्यालयले जनाएको छ । 

साँफेबगर नगरपालिकामा नेकपा (एमाले) बाट विजयी भएका १४ मध्ये आठ वटा वडा अध्यक्ष भने मूल पार्टीमै रहेको भन्दै शुक्रवार विज्ञप्ति प्रकाशित गरिसकेका छन् । जिल्लाका ढकारी गाउँपालिकाका ३ वडामा विजयी वडाअध्यक्षले पनि आइतबार विज्ञप्ति जारी गर्दै मूल पार्टी एमालेमै रहने जनाएका छन् । अछाममा ९१ वडामध्ये २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले ३६ वडामा जित हासिल गरेको थियो । 

अछाम–१ का प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष भीमबहादुर रावल र अछाम–२ का प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी नेकपा (एमाले) मै रहनुभएको छ ।

एमाले जिल्ला अध्यक्ष समेत रहनु भएका राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, नेकपा (एमाले) बाट अछाम–२ (ख) मा निर्वाचित प्रदेशसभा सदस्य बलबहादुर सोडारी, प्रदेशसभाका समानुपातिक सदस्य मनाकुमारी साउँद र दुर्गा कामीले नेकपा समाजवादी रोजि सक्नुभएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button