तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा २० करोडको लागतमा सडक मानवहरूका लागि आधुनिक भवन बन्दै

वीरगन्ज । अनाथ तथा सडक मानवहरूलाई आश्रय दिने उद्देश्यले वीरगन्जमा २० करोडको लागतमा मानव सेवा आश्रमको भवन निर्माण गरिने भएको छ । 

वीरगञ्ज महानगरपालिकाले मानव सेवा आश्रम शाखाका लागि १८ कट्ठा जमिन दिनुको साथै भवन बनाउन २५ लाख रुपैयाँ समेत प्रदान गरिसकेको छ । रेम्ड अर्थ प्रविधिबाट डिजाइन गरिएको भवन भोजपुरी कला संस्कृति झल्कने, वातावरण सुहाउँदो, भूकम्प प्रतिरोधी र वास्तु शास्त्र मिलाएर बनाइने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला बताउनुभयो । 

बाँसलगायत स्थानीय स्रोत साधनको बढी प्रयोग गरी १४ कट्ठा जमिनमा भान्छा घर, तालिम हल, सहयोगापेक्षीलाई राख्ने कोठाहरु, हेरचाहमा खट्नेहरूका लागि आवास र आश्रममा आउने पाहुनाका लागि अतिथि गृह समेत बनाउने महानगरपालिकाले जनाएको छ । 

वीरगन्जमा बनाउन लागिएको मानव सेवा आश्रमको भवनको प्रारम्भिक खाका प्रस्तुतीकरण कार्यक्रममा नगर प्रमुख विजय कुमार सरावगीले मानव सेवा आश्रमलाई आत्मनिर्भर रुपमा सञ्चालन गर्न सक्ने अवस्था सृजना गर्नु पर्ने कुरामा जोड दिनुभयो । 

उहाँले आश्रमको दैनिक आवश्यकता परिपूर्तिका लागि स्रोतको अभाव छ, कसरी आम्दानी गरेर आत्मनिर्भर बन्न सकिन्छ सोच्नु पर्ने बताउनु हुँदै आश्रम परिसरमा पोखरी बनाएर माछा पाल्ने हो वा इको पार्क बनाएर पर्यटकलाई आकर्षित गर्न पो सकिन्छ कि जसरी हुन्छ आर्थिक स्रोत बढाउनमा ध्यान दिनु पर्ने कुरामा जोड दिनुभयो । 

मिस नेपाल शृङ्खला खतिवडाको गाथा नामक संस्थाले भवनको डिजाइनिङको काम गरिरहेको छ । गाथाको तर्फबाट शुभम् कोइराला र कौशल श्रेष्ठले भवनको प्रारम्भिक खाका प्रस्तुत गर्नु भएको थियो । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाले खुल्ला ठाउँ बढी राखेर संरचना बनाइने बताउनुभयो । 

मानव सेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीले गर्मीमा समेत चिसो हुने भएकोले रेम्ड अर्थ प्रविधिबाट घर बनाउन लागिएको जानकारी दिनुभयो । 

वीरगन्जमा २०७४ जेठ १५ गते स्थापना भएको मानव सेवा आश्रम वीरगञ्ज शाखामा ५५ जना आश्रित छन् । कुनै पनि विदेशी दातृ निकायबाट शर्त सहितको अनुदान नलिने घोषणा मानव सेवा आश्रमले गरेको छ । 

सडकमा अलपत्र परेका बेसहारा मानिसलाई आश्रमले गाँस, बास र कपाससँगै औषधी उपचारको व्यवस्था गर्नुको साथै पारिवारिक पूर्नमिलन गराउँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button