हिमा गाउँपालिकाका सबै विद्यालय सञ्चालन

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाका सबै विद्यालय सञ्चालनमा आएका छन् । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू सञ्चालन भएर पठनपाठन समेत शुरु भएको छ । हिमा गाउँपालिकाले भदौ १५ गतेबाट विद्यालय सञ्चालनमा ल्याएको बताएको हो ।
गाउँपालिकाको शिक्षा शाखा प्रमुख शङ्कर धितालका अनुसार गाउँपालिकाको दुई क्षेत्रमा ८२ जनाको कोरोना परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएपछि कार्यपालिको बैठकको निर्णय अनुसार हिमाका सबै विद्यालय स्वास्थ्य मापदण्ड पालन गरी खुलाइएको जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयले शिक्षा शाखा प्रमुखहरूको उपस्थितिमा विद्यालय सुचारु गर्ने आधारको विषयमा आयोजना गरिएको बैठकमा विद्यालय सुचारु गरिएको शाखा प्रमुख धितालले जानकारी दिनुभयो । स्थानीय तहको निर्णय अनुसार १५ गतेबाट आफ्नो विद्यालयमा स्वास्थ्य मापदण्ड अनुसार विद्यालय खुलाइएको कालिका माध्यमिक विद्यालयका शिक्षक खम्बा शाहीले जानकारी दिनुभयो ।
यसका साथै जुम्लाका अन्य सात स्थानीय तह पनि विद्यालय सञ्चालन गर्ने तयारीमै छन् । स्थानीय तहका शिक्षा शाखा प्रमुखहरूले विद्यार्थीहरूमा नमुना परिक्षण भइरहेको नतिजाका आधारमा शिक्षा क्षेत्र सञ्चालनमा ल्याइने तयारी भएको हो । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले शिक्षा शाखाले एक हप्ता भित्र शिक्षा क्षेत्रको जोखिम प्रतिकार्य योजना ल्याउने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार यस अघि जिल्ला कोभिड व्यवस्थापन समितिले पनि निर्णय गरे पनि शिक्षा शाखालाई जिम्मेवारी दिएर एक सातामा जोखिम कार्य योजना सहितको प्रतिवेदन पेश गर्ने निर्देशन गरिएको हो ।
बैठकमा शिक्षा शाखा प्रमुखहरूले शिक्षा क्षेत्र धरापमा परिसकेकाले स्वास्थ्य क्षेत्रको मापदण्ड पालना गरेर विद्यालय खुलाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले विद्यार्थीहरू मेला, पर्व र अन्य काममा जाने भएकाले त्यहाँ भन्दा विद्यालयमै सुरक्षित हुनेमा सुझाव दिएका छन् ।
सरकारले पछिल्लो समयमा स्मार्ट लकडाउन कार्यविधि समेत बनाएको छ । स्वास्थ्यको मापदण्ड अनुसार हरेक साता कोरोना परीक्षण गरेर एक सय जनामा परीक्षण गरेमा ५ जना भन्दा मुनी पोजेटिभ आएमा मात्रै विद्यालय सुचारु गर्न पाइने मापदण्ड रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डाक्टर राजीव शाहले जानकारी दिनुभयो । उहाँका अनुसार त्यो कार्यविधिका विषयमा स्थानीय तहमा छलफल बहस र सचेतना आवश्यक रहेको छ ।
शिक्षा समन्वय इकाई प्रमुख मकरबहादुर भण्डारीका अनुसार प्राय शिक्षकहरूले खोप लगाई सकेको भन्दै छुटेकालाई अनिवार्य खोप लगाउने व्यवस्था गर्न अनुरोध गर्नुभयो । उहाँले आधार तयार गरेर मात्र विद्यालय खोल्नुपर्नेमा जोड दिनुभयो । यसै गरी चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाले ८ वटा विद्यालयमा कोरोना परीक्षण गरिएको स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्