सप्तरीमा नयाँ क्रियाशील सदस्यता गर्न माग

राजविराज । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीले सिफारिस गरेकालाई क्रियाशील सदस्यता दिन माग गरेको छ ।
नेपाली काँग्रेसको विधान, नियमावली र केन्द्रीय परिपत्र बमोजिम विधिवत् क्रियाशील फारम भरेर केन्द्रलाई बुझाए पनि सप्तरीको फायल नै बन्द गरिएको जिल्ला सभापति यादवले आरोप लगाउनुभयो ।
सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाभित्र करिब ९ हजार नयाँ क्रियाशील सदस्यले शुल्क समेत बुझाई सकेको अवस्थामा केन्द्रले क्रियाशील सदस्यता छानबिन समितिले स्थगित गरेको उहाँले बताउनुभयो ।
क्रियाशील सदस्यता स्थगन गर्दा ४ हजारको सङ्ख्यामा पार्टी प्रवेश गरेका व्यक्तिलाई ठाउँ दिन नसकिएको र मापदण्ड पनि पूरा नभएको सभापति यादवले बताउनुभयो । ‘जिल्लामा परिपत्र गरिए अनुसार गाउँपालिकामा ४५ र नगरपालिकाको वडामा ५१ जना क्रियाशील हुनुपर्ने मापदण्ड तोकिएको छ’ उहाँले भने, ‘तर कुनै वडामा शून्य छ भने कुनैमा त्यो सङ्ख्या अपुग छ ।’
जिल्लाका ९१ वडामा यस्तो समस्या देखिएको बताउँदै सभापति यादवले सप्तरी जिल्लामा धेरै ठूलो अन्याय गरेको बताउनुभयो । जिल्लामा क्रियाशील सदस्यता लागू नगरेको खण्डमा कडाभन्दा कडा प्रतिकार गर्ने शनिबार जिल्ला कार्यसमिति सप्तरीले निर्णय गरी सकेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्