भेरी–बबईबाट दुर्लभ अजिङ्गरको उद्धार

सुर्खेत । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँधस्थल चिप्लेबाट ९ फिट लामो अजिङ्गरको उद्धार गरिएको छ ।
आयोजनाको बाँधस्थल टनेलमाथि देखा परेको अजिङ्गरलाई कामदारले डिभिजन वन कार्यालय सुर्खेतलाई खबर गरेपछि वनको विशेष टोलीले चिप्लेबाट २० किलोग्राम वजन रहेको अजिङ्गरको उद्धार गरेको हो ।

वनको विशेष टोलीले सामान्य घाइते अवस्थामा रहेको अजिङ्गरलाई उद्धार गरेर डिभिजन वन कार्यालय स्थित आश्रय स्थलमा राखेर औषधी उपचार गरिरहेको छ । भेरी–बबई आयोजना स्थलका कामदार र प्रहरीको सहयोगमा उद्धार गरेर ल्याइएको अजिङ्गरलाई सामान्य अवस्थापछि पुनः सुरक्षित वासस्थानमै छोडिने डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो ।
उहाँले केही दिन पहिले स्थानीय भैरव सामुदायिक वन आसपासबाट घाइते मृगको बच्चालाई समेत उद्धार गरेर आश्रय स्थलमा औषधी उपचार भइरहेको बताउनुभयो । उहाँका अनुसार उक्त मृगको बच्चालाई समेत सामान्य रुपमा तन्दुरुस्त हुने बित्तिकै सुरक्षित वासस्थानमा छोडिने योजना छ ।









प्रतिक्रिया राख्नुहोस्