तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

तनहुँ । कोरोना सङ्क्रमण दर कम हुँदै गएपछि तनहुँ जिल्लाका स्थानीय तहले अवरुद्ध पठनपाठन भौतिक उपस्थितिमै पुनः सञ्चालनमा ल्याउन थालेका छन् । चार नगरपालिका र ६ गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य सुरक्षालाई पालना गर्दै बिहान र दिउँसोको समय मिलाएर विद्यार्थीको भौतिक उपस्थितिमै नियमित पठनपाठन सञ्चालन गर्न थालेका हुन् ।

जिल्लाको बन्दिपुर गाउँपालिका र घिरिङ गाउँपालिका बाहेक अन्य आठ पालिकाले भौतिक रूपमै विद्यालय सञ्चालन गर्न अनुमति दिएका छन् । यी दुई पालिकामा पनि छिट्टै बैठक बसेर विद्यालय सञ्चालन बारे निर्णय गर्ने तयारी रहेको जनाइएको छ ।

बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले भन्नुभयो ’दुई–तीन दिन भित्रै बैठक राखेर निर्णय गर्छौ । यस्तै घिरिङमा आइतबार विद्यालयका प्रअहरु बैठक राखेर निर्णय गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदीले जानकारी दिनुभयो ।

जिल्लाको म्याग्दे गाउँपालिकाले भौतिक उपस्थितिमै पठनपाठन सञ्चालनमा ल्याइसकेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्धिसागर खनालले जानकारी दिनुभयो । गाउँपालिकाभित्र १ सय जना विद्यार्थीसम्म भएको विद्यालयमा सबै विद्यार्थी बोलाउने, ३ सयसम्म विद्यार्थी भएका विद्यालयमा जोर–बिजोर गरेर सञ्चालन गर्न सकिने र ३ सय भन्दा माथि विद्यार्थी भएका विद्यालयले एक तिहाइ विद्यार्थी बोलाएर कक्षा सञ्चालन गर्न निर्देशन गरिएको उहाँले बताउनुभयो ।

विद्यार्थी सिकाइ निरन्तरताका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमीबाट प्राप्त पत्र एवं विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७८ को दफा ५ को उपदफा ४ अनुसार गाउँ शिक्षा समितिको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै÷गराउँदै पठनपाठन सञ्चालन गर्न सिफारिस गरेको थियो ।

हरेक बेञ्चमा दुई मात्र विद्यार्थी राख्ने र विद्यालयका प्रधानाध्यापकलाई दैनिक कक्षा निरीक्षण गर्ने, सहजीकरण गरिएका विषयमा अस्पष्टता भएमा इन्टरनेटका माध्यमबाट शिक्षक–विद्यार्थीबीचमा अन्तर्क्रिया गर्ने, हरेक हप्ता शिक्षक तथा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने, विद्यार्थीको स्वास्थ्यमा समस्या देखिए तत्काल अभिभावकलाई खबर गर्ने वा अन्य निकायलाई जानकारी दिनेलगायतका विषयमा विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र अभिभावकबीचमा अन्तर्क्रिया गर्ने व्यवस्था गरेको पालिकाले जनाएको छ ।

जिल्लाको भिमाद नगरपालिका भित्र पनि गत भदौ १३ गते आइतबारदेखि नै भौतिक रुपमा विद्यालय सञ्चालन भएको भिमाद नगरपालिकाकी शिक्षा शाखा प्रमुख टेकावती ढकालले जानकारी दिनुभयो ।

यस्तै आँबुखैरेनी गाउँपालिकाका केही विद्यालयमा अनलाइन र केही विद्यालयमा भौतिक रुपमा नै कक्षा सञ्चालन भएको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिनुभयो ।

त्यस्तै देवघाट गाउँपालिकाले पनि आइतबारदेखि पालिका भित्रका सबै विद्यालय भौतिक रूपमै सञ्चालन गर्ने सूचना जारी गरेको छ ।

यस्तै गत आइतबारदेखि भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र ऋषिङ गाउँपालिकाका विद्यालयमा प्रत्यक्ष कक्षा सुचारु भएको थियो । लामो समयदेखि कोभिड–१९ का कारण सिर्जना भएको लकडाउनको अवस्थाका कारण विद्यालय बन्द भई बालबालिकाहरूको पठनपाठन अवरुद्ध हुन गई ठूलो शैक्षिक क्षति हुन गएको र हाल कोभिड–१९ सङ्क्रमणको जोखिम क्रमशः न्यूनीकरण हुँदै गइरहेको भन्दै तनहुँका यी पालिकाले सम्पुर्ण विद्यालय सञ्चालन गरी प्रत्यक्ष कक्षा सुचारु गर्न निर्देशन दिएका थिए ।

यस्तै जिल्लाको शुक्लागण्डकी नगरपालिकामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भौतिक रूपमै विद्यालय खोल्ने निर्णय भएको नगर प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो ।

शुक्रवार विद्यालयका प्रधानाध्यापकसहितको उपस्थितिमा बसेको शिक्षा शाखाको बैठकले राजमार्गमा पर्ने पाँच विद्यालय बाहेक अन्य विद्यालयहरू खोल्ने निर्णय भएको प्रवक्ता कुमालले बताउनुभयो । उहाँका अनुसार शहीदकृष्ण मावि, पञ्चमुनिदेव मावि, जनकल्याण मावि, खैरेनी मावि र सरस्वती नमुना मावि भने अहिल्यै खुलाइएको छैन ।

नगरपालिकाको युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख उपसचिव नवराज चापागाईँले स्मार्ट लकडाउनको अवधारणा अनुसार विद्यार्थीहरूलाई आलोपालो गरेर विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button