जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुँदैछ : ऊर्जा मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताउनुभएको छ । औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको भन्दै उहाँले नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताउनुभयो ।
निजामती कर्मचारी दिवसको सन्दर्भमा ललितपुर महानगर पालिका वडा नं २ स्थित इन्द्रायणी पार्कमा आज वृक्षारोपण गरेपछि मन्त्री भुसालले भन्नुभयो, “विकसित मुलुकका क्रियाकलापको परिणामले जलवायु परिवर्तनको असर सहनु परेको छ, नखाएको विष लाग्ने अवस्था छ ।”

औद्योगिक र आणविक विकासका कारण जलवायु परिवर्तन भई अप्रत्याशित विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, “ देशका विभिन्न भागमा भूक्षयको मार खेप्नु परेको छ, जसका कारण हाम्रो दैनिक जीवन प्रभावित भएको छ ।”
सिन्धुपाल्चोकको हेलम्बुमा गएको भूक्षयका कारण ठूलो जनधनको क्षति हुनाका साथै मेलम्ची खानेपानी आयोजना प्रभावित हुँदा उपत्यकावासीका घरका धारामा आएको पानीसमेत रोकिएको बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, “भूक्षयपछि आएको बाढी र त्यसले पुर्याएको क्षतिका कारण मानवीय एवं भौतिक क्षेत्री व्यहोर्नु परेको छ । मनाङ, रोल्पा, बागलुङलगायत क्षेत्रमा ठूलो असर पुर्याएको छ ।”
आफूले मतदान गर्ने महानगरको वडा नं २ मा वृक्षारोपण गर्न पाउँदा खुशी लागेको बताउँदै उहाँले वडालाई भौतिक तथा सुरक्षाका दृष्टिकोणले सम्पन्न बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने वडा अध्यक्ष राजेशकुमार महर्जनसहित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले वृक्षारोपण गरिएका बिरुवाको राम्रो संरक्षण हुने विश्वास दिलाउँदै खाली स्थानमा वृक्षारोपण गरी आफ्ना बस्तीलाई वातावरणमैत्री बनाउन आग्रहसमेत गर्नुभयो ।

सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले वृक्षारोपण गरिएका वृक्षको उचित संरक्षण हुने विश्वास व्यक्त गर्दै वातावरणमैत्री संरचनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो । त्यसै गरी सिँचाइ तथा जलस्रोत सचिव सागरकुमार राईले खुला स्थानमा वृक्षारोपण गरेर वातावरणमैत्री एवं सभ्यताको सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो । वडा अध्यक्ष राजेशकुमार महर्जनले वडा परिसरमा रोपिएका वृक्षहरूको संरक्षणमा गर्ने विश्वास दिलाउनुभयो । त्यस अवसरमा इन्द्रायणी पार्कमा चार दर्जनबढी विभिन्न जातका वृक्ष रोपिएका छन् ।









प्रतिक्रिया राख्नुहोस्