अविरल वर्षाका कारण अरनिको राजमार्ग र ताँथली नाला सडक बन्द

भक्तपुर । रातिदेखि परेको अविरल वर्षाका कारण काभ्रे प्रवेश गर्ने दुई वटै सडक अवरुद्ध हुँदा अरनिको राजमार्ग खण्ड बन्द भएको छ । राजमार्ग बन्द भएर यातायात अवरुद्ध हुँदा भक्तपुरको सूर्य विनायकसम्म सयौँ गाडी बिहानैदेखि लामबद्ध भएर रोकिएका छन् ।
भक्तपुरबाट काभ्रेपलान्चोकतर्फ जाने दुई सडकमध्ये अरनिको राजमार्ग खण्डको बनेपा पुल बजार डुबानमा पर्दा पुल बजारदेखि भक्तपुरको सूर्य विनायकसम्म सडक बन्द भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
बिहानैदेखि काभ्रेदेखि सूर्य विनायकसम्म सडकको दुवैतर्फ गाडी लामबद्ध रहेको जानकारी दिँदै उहाँले पुल बजार खुलेर सहजरुपमा यातायातका साधन जान सक्ने अवस्था नभएसम्म समस्या हुने बताउनुभयो । उहाँले सडक नखुलेसम्म काभ्रे जाने यातायातका साधनलाई यो सडक भएर नआउनसमेत आग्रह गर्नुभयो । बिहान १० बजेसम्म यातायातको साधनको चाप सडकमा बढ्दै गएको प्रहरीको भनाइ छ ।
काभ्रे जाने वैकल्पिक सडकका रुपमा रहेको भक्तपुरको च्यामासिंह ताँथली, नाला हुँदै बनेपा निस्कने सडकसमेत अवरुद्ध हुँदा यो सडक भएर जाने सवारीसाधन ताँथली र गुम्बामा दुवैतर्फ समेत रोकिएका छन् ।राति भक्तपुर र काभ्रेको सिमानामा पर्ने चाँगुनारायण नगरपालिका–९ भन्ज्याङमा पहिरो गएर सडक अवरुद्ध हुँदा अरनिको राजमार्गको विकल्पका रुपमा यो सडक हुँदै गएका सवारी साधन पनि पाँच घण्टा भन्ज्याङमा रोकिएका छन् ।
प्रहरी नायब उपरीक्षक थापाले ताँथली नाला सडकको पहिरो प्रहरीले हटाएर एकतर्फी सवारीसाधन चलाउन सुरु गरेको बताउनुभयो । अरनिको राजमार्ग अवरुद्ध हुँदा यही मार्ग भएर गएका र बनेपाबाट आएका सयौँ सवारी साधन दुईतर्फ नै रोकिएका छन् । प्रहरीले एकतर्फी सडक सञ्चालन गराइए पनि सवारीसाधन भने लामो जाममा रहेका छन् । थप पहिरो खस्ने सम्भावना रहेको स्थानीयवासीले बताएका छन् ।
यसैबिच वर्षाका कारण हनुमन्ते र मनोहरा खोलामा पानीको बहाव उच्चरुपमा बढेको छ । मनोहरा खोलामा पानीको बहाव बढेपछि खोला आसपासका केही क्षेत्र डुबानमा परेका छन् । लोकन्थलीस्थित मनोहरा किनारामा रहेको सुकुम्वासी बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । हनुमन्ते किनाराका बासिन्दालाई पनि खोलाको बहाव बढेकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ ।
बनेपा पुल बजार डुबानमा
बनेपा– आइतबार रातिदेखि परेको भारी वर्षाका कारण नाला हुँदै बनेपा–पनौती भएर बग्ने पुण्यमाता खोलामा आएको बाढीका कारण काभ्रेपलान्चोकको बनेपा पुल बजार क्षेत्र डुबानमा परेपछि बिहानदेखि अरनिको राजमार्ग सडक खण्डअन्तर्गत बनेपा खण्डमा यातायात साधन चल्न सकेका छैनन् । बाढीले बनेपाको पुल बजार क्षेत्र पूरै डुबानमा परेपछि सो क्षेत्रमा यातायातको साधन चल्न नसकेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक राजन कोइरालाका अनुसार भारी वर्षाका कारण पुल बजार क्षेत्र डुबानमा परेका कारण बिहान २ बजेदेखि सवारीसाधन चल्न सकेको छैन । उहाँले भन्नुभयो, “राति २ बजेतिर खोलामा पानीको बहाव बढेपछि बनेपा पुल बजारमा फसेका दुई तीन वटा सवारी साधन निकालेपछि अरू साधन आवतजावत गर्न सकिरहेका छैनन् ।” पुल बजार क्षेत्र पूरै डुबानमा परेका कारण त्यहाँका घर, पसल तथा मोटर ग्यारेजलगायत डुबानमा परेको प्रहरीले जनाएको छ । खोलामा पानीको बहाव बढेसँगै पुल बजार क्षेत्र जलमग्न भएको छ ।
सोही खोलामा आएको बाढीका कारण बनेपा–पनौती सडक खण्डको बनेपा गोदाम चोकदेखि धनेश्वर जोड्ने पुलसमेत डुबानमा परेको कारण सो सडक खण्डसमेत ठप्प रहेको प्रहरीले जनाएको छ । नगरपालिकाले पुण्यमाता करिडोरलाई व्यवस्थित गर्न ध्यान नदिँदा अविरल वर्षा हुँदा पुल बजार क्षेत्र डुबानमा पर्ने गरेको छ ।
अरनिको राजमार्गको बनेपा क्षेत्र ठप्प भएपछि बनेपा–नाला–भक्तपुर भएर चल्ने सडक खण्डबाट सामान्यरुपमा सवारी साधन सञ्चालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्