मानव बेचबिखनका घटना नरोकिएको माइती नेपालको भनाई

झापा । कोरोना सङ्क्रमणको समयमा समेत मानव बेचबिखनका घटना नरोकिएको माइती नेपालले जनाएको छ । माइती नेपालका प्रदेश १ संयोजक गोविन्द घिमिरेले विभिन्न बहानामा चेलीहरूलाई तस्करहरूले बेच्ने क्रम अझै नरोकिएको बताउनुभयो ।
उहाँका अनुसार सन् २०२१ को जनवरीदेखि अगस्ट महिनासम्ममा बेचिएका १६ जना महिलालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएको छ ।
सोही अवधिमा ३० जना महिला तथा किशोरीलाई बेचिनबाट रोकिएको छ । सोही अवधिमा ३० जना महिला हराएको र जसमध्ये १४ जना महिला फेला परेको प्रदेश १ संयोजक घिमिरेले जानकारी दिनुभयो ।
पछिल्लो समय घरेलु हिंसाका घटनामा वृद्धि भएको माइती नेपालले जनाएको छ । प्रदेश १ मा मात्रै १४ वटा घरेलु हिंसा सम्बन्धी उजुरी माइती नेपालमा परेको प्रदेश संयोजक घिमिरेले बताउनुभयो ।
सन् २०२० मा भारतका विभिन्न स्थानबाट ३६ जना महिलाको उद्धार गरिएको थियो । जसमध्ये २१ जना महिलाको मणिपुरबाट उद्धार गरिएको थियो भने अन्य १५ जनाको भारतका विभिन्न जिल्लाबाट उद्धार गरिएको माइती नेपालको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
सोही अवधिमा एक सय १५ जना महिलालाई सीमा क्षेत्रबाट रोकेर घर फर्काइएको जनाइएको छ । सन् २०२० मा ५५ जना महिला हराएका थिए भने १८ जना मात्रै फेला परेका थिए ।
मानव बेचबिखनमा सक्रिय गिरोहले रोजगारी लगाइदिने बहानामा किशोरीहरूलाई बेचबिखन गर्ने र उनीहरूलाई यौन धन्दामा लगाउने गरेको पाइएको माइती नेपालले जनाएको छ ।
झापासहित इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी तथा देशका विभिन्न भागबाट महिला तथा किशोरीलाई विभिन्न प्रलोभनमा पारी पूर्वी नाका काँकडभिट्टा तथा विराटनगरको जोगमनी लगायतका नाकाबाट भारत पुर्याउने गरेको माइती नेपालले जनाएको छ ।
प्राकृतिक विपत्ति तथा विभिन्न समस्यामा परेका महिलाहरूलाई सहज रुपमा मानव तस्करहरूले प्रलोभनमा पार्ने गरेको प्रदेश संयोजक घिमिरेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्