तपाईँ सुन्दै हुनुहुन्छः

रोजगारमूलक कार्यक्रम एकीकृत ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड

काठमाडौँ । विभिन्न मन्त्रालय र निकायहरूमार्फत अलग अलग ढङ्गले कार्यान्वयन गरिँदै आएका सीपमूलक तथा रोजगारमूलक कार्यक्रमहरूलाई एकीकृत ढङ्गले सञ्चालन गर्नु पर्नेमा सरकारको सम्वद्ध निकायका पदाधिकारीहरूले जोड दिनु भएको छ । 


आइतबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा राष्ट्रिय योजना आयोगसहित सरोकारवाला मन्त्रालय तथा निकायका उच्च पदस्थ अधिकारीहरूले दोहोरोपना देखिएका तालिम कार्यक्रमहरूलाई एकीकृत रूपले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको हो ।


श्रम, शिक्षा, कृषि तथा पशुपन्छी, सहकारी, युवा लगायतका मन्त्रालय र मातहतका निकायहरूबाट हुने गरेका सीपमूलक तथा रोजगारमूलक तालिमहरूलाई विषयगत रूपले एकीकृत गरी एक द्वार प्रणालीबाट सञ्चालन आवश्यक भएको निचोड छलफलबाट निकालिएको छ । 


कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले दोहोरोपना देखिएका तालिम कार्यक्रमलाई एकीकृत रूपले सञ्चालन गर्ने गरी नीतिगत तयारी गर्न सम्वद्ध निकायका पदाधिकारीहरूलाई निर्देशन दिनुभयो । 


अर्थ मन्त्री शर्माले तालिम लिएको व्यक्ति स्वरोजगार हुने वा रोजगारीमा लाग्न सक्ने खालको तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सीपमूलक तालिमहरू एकीकृत गर्दा सीमान्तकृत समुदायलाई प्राथमिकतामा राखेर कार्यक्रम तय गर्नुपर्नेमा पनि मन्त्री शर्माले जोड दिनुभयो । 


कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवल प्रसाद भण्डारीले सीपमूलक तालिमहरू एक द्वार प्रणालीबाट सञ्चालन गर्नुपर्ने प्रस्ताव आवश्यक र सान्दर्भिक रहेको उल्लेख गर्नुहुँदै यसलाई विषयगत हिसाबले दुई समूहमा विभाजन गरी सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिनुभयो । 


अर्थ सचिव मधुकुमार मरासिनीले एकीकृत प्रणालीबाट तालिम सञ्चालन गर्ने विषय सकेसम्म प्रतिस्थापन विधेयकमा समेट्ने गरी तयारी गर्न सम्बद्ध मन्त्रालय तथा निकायहरूलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button