वडाध्यक्ष राउतमाथि यौन दुर्व्यवहारको मुद्दा
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष प्रकाश राउतमाथि यौन दुर्व्यवहार गरेको आरोपमा मुद्दा परेको छ । उनलाई आफ्नै वडामा कार्यरत एक महिला कर्मचारी माथि यौन दुर्व्यवहार गरेको आरोप छ ।
सो विषयलाई लिएर पीडित महिलाले गत चैत्र ३० गते उदयपुर जिल्ला अदालतमा राउत विरुद्ध मुद्दा दायर गराएकी थिइन् । अदालतमा दायर गरेको फिरादपत्रमा वडाध्यक्ष राउतले आफूलाई यौन दुर्व्यवहार गरेको हुँदा क्षतिपूर्ति दिलाई सजाय गरी पाउँ भन्ने उल्लेख गरिएको छ । फिरादपत्रमा आफूलाई सदरमुकाम गाईघाट बोलाएर त्रियुगा बसपार्कबाट मोटरसाइकलमा चढाई पुरानो गाईघाट हुँदै स्थानीय कञ्चनजङ्घा होटलमा लगेर दुर्व्यवहार गरेको आरोप छ । पीडित महिलाले आफूलाई वडाध्यक्ष राउतले अस्वाभाविक, अवाञ्छित र अमर्यादित व्यवहार गरेकोले एक लाख रुपैयाँसमेत क्षतिपूर्तिको माग गरेकी छिन् ।
तर, यौन दुर्व्यवहार जस्तो गम्भीर प्रकृतिको मुद्दालाई वडाध्यक्ष राउतले जबरजस्ती फिर्ता लिन बाध्य पारिएको पीडितका आफन्तहरू बताउँछन् । आफन्तहरूका अनुसार गत भदौ ११ गते दाबी साबित गर्न नसक्ने भन्दै पीडितलाई मुद्दा फिर्ता लिन लगाएका थिए । वडाध्यक्ष राउत विगतमा पनि विभिन्न विषयमा विवादमा पर्दै आएका व्यक्ति हुन् ।








प्रतिक्रिया राख्नुहोस्