तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री खाँणद्वारा ३ जिल्लाका बाढी, पहिरो र कटान क्षेत्रको निरीक्षण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोक, उदयपुर र धनुषामा यस वर्ष भएको बाढी, पहिरो र कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।


मन्त्री खाँणले बाढी पहिरो प्रभावित सिन्धुपाल्चोकको मेलम्ची मुहान हेलम्बु क्षेत्र, मेलम्ची बजार, उदयपुरको कोशी कटान क्षेत्र चतरा घाट र धनुषास्थित कमला नदीबाट भएको कटानको स्थलगत निरीक्षण गर्नुभएको हो ।


मेलम्ची हेलम्बु क्षेत्रको भ्रमणका क्रममा गृहमन्त्री खाँणले कमजोर भू–बनोटका कारण पहिरो गई हिलो आएर क्षति पुर्‍याएकाले मुहान क्षेत्रबाटै बलियो पूर्वाधार बनाएर लैजान सरकारले सोच बनाएको बताउनुभयो । 


ग्रेग्रानसहितको हिलो बगेर आउँदा मेलम्ची बजार क्षेत्रलाई ठूलो क्षति पुगेको बताउँदै उहाँले राष्ट्रिय स्रोत तथा अन्तर्राष्ट्रिय सहयोग लिएर भए पनि मेलम्ची क्षेत्रको पुनर्निर्माण अघि बढाइने बताउनुभयो । 


कोशीबाट उदयपुरको करिब डेढ किलोमिटर कटान क्षेत्रको निरीक्षण गर्ने क्रममा मन्त्री खाँणले जलवायु परिवर्तनको असरका कारण नदीले धार परिवर्तन गरी कटान हुने गरेकाले उपयुक्त योजना बनाएर सरकारले काम गर्ने विश्वास दिलाउनुभयो । 


कटान क्षेत्रमा समयमै तटबन्ध गर्न नसकिएमा हजारौँ जनता प्रभावित हुन सक्ने भएकाले तत्कालीन र दीर्घकालीन योजना बनाएर बस्ती जोगाउने र मानिसको जीवन रक्षाको काम गरिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।


धनुषाको कमला नदी कटान क्षेत्रको निरीक्षणका क्रममा स्थानीय वासीबाट भएको तटबन्धका कार्यक्रम व्यवस्थित रुपमा अघि बढाएकामा सराहना गर्दै मन्त्री खाँणले कमला तटबन्ध परियोजनालाई व्यवस्थित ढङ्गबाट अघि बढाइने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button