तपाईँ सुन्दै हुनुहुन्छः

क्युबामा बालबालिकालाई पनि खोप लगाउन सुरु

file photo

हभाना । क्युबामा शुक्रवारदेखि बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।  

कोरोना भाइरसको महामारी बढ्दै गएकाले क्षति न्यूनीकरणका लागि बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालिएको अधिकारीले जनाएका छन् ।

क्युबाका स्वास्थ्य अधिकारीका अनुसार दुई वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन थालिएको हो ।  

बालबालिकासँगै शिक्षक शिक्षिकालाई पनि खोप लगाएर विद्यालयको पठनपाठन भौतिक उपस्थितिसहित सुरु गर्ने योजना क्युबा सरकारले बनाएको छ । 

उनीहरूलाई खोप लगाउने अभियानको पहिलो चरणमा ८० हजार माध्यामिक तहका विद्यार्थी र १० हजार शिक्षकलाई खोप लगाइने भएको छ ।

क्युबामा देशभरि गरेर अहिले सात हजार विद्यालय रहेका छन् । उनीहरू मध्ये अधिकांशलाई खोप केन्द्रसमेत तोकिएको छ । 

सबै विद्यार्थी र शिक्षक शिक्षिकाले खोपको मात्रा पुरा गरेपछि विद्यालयमा पठन पाठनसमेत सुरु गरिने अधिकारीले जानकारी दिएका छन् ।  

क्युबामा पछिल्लो एक दिनमा छ हजार ९२७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् भने ७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।   रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button