तपाईँ सुन्दै हुनुहुन्छः

भौतिक रुपमा विद्यालय खोल्दै सल्यानका स्थानीय तह

सल्यान । कोभिड–१९ को संक्रमणदर घटेर निषेधाज्ञा खुकुलो भएसँगै सल्यानका स्थानीय तहहरूले भौतिक रूपमै विद्यालय सञ्चालन गर्ने तयारी गरेका छन् ।

स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने भन्दै सल्यानका चार स्थानीय तहले भौतिक रुपमा कक्षा सञ्चालन गर्ने भएका छन् ।

केही विद्यालयमा वैकल्पिक माध्यमबाट पठनपाठन गरिए पनि त्यसको प्रभावकारिता नदेखिएको भन्दै स्थानीय तहहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालय खोल्ने भएका छन् ।

ग्रामीण क्षेत्रमा इन्टरनेटको सहज पहुँच नहुँदा वैकल्पिक माध्यमबाट पढाउन समस्या आएपछि भौतिक रूपमै कक्षा सञ्चालन गर्ने निर्णय भएको शारदा नगरपालिका शिक्षा शाखा प्रमुख लिलाधर बबालले बताउनुभयो ।

स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर सोमबारदेखि विद्यार्थीलाई भौतिक रुपमा विद्यालयमै उपस्थित गराएर पठनपाठनलाई निरन्तरता दिन लागिएको उहाँको भनाई छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षालय सञ्चालन गर्न सक्ने अधिकारी स्थानीय तहलाई अधिकार दिएसँगै कोरोनाको जोखिमलाई मध्यनजर गर्दै शुक्रवारदेखि नै भौतिक रुपमा विद्यालय सञ्चालन भएको त्रिवेणी गाउँपालिका शिक्षा शाखा दल बहादुर रानाले बताउनुभयो ।

कोभिडको जोखिम कहिलेसम्म रहने टुङ्गो नभएको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर भौतिक रुपमा कक्षा सञ्चालन गर्न सहजीकरण गरेको उहाँको भनाई छ ।

दश स्थानीय तह रहेको सल्यानमा शारदा नगरपालिकाले सोमबार, छत्रेश्वरी र कपुरकोट गाउँपालिकाले आइतबारबाट भौतिक रुपमा कक्षा सञ्चालन गर्न परिपत्र गरेको शिक्षा विकास तथा समन्वय इकाई सल्यानका समन्वय इकाई लाल बहादुर घर्तीले बताउनुभयो ।

त्रिवेणी गाउँपालिकाले भने गत शुक्र बाह्रबाट कक्षा सञ्चालन गर्दै आइरहेको घर्तीको भनाई छ । अन्य स्थानीय तहहरूले पनि भदौ भित्र विद्यालय सञ्चालन गर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button