वीरगंज–रक्सौलको मितेरी पुलको मर्मत सुरु

बीरगंज । मुलुकको प्रमुख भन्सार नाका वीरगंज–रक्सौलको मितेरी पुलको मर्मत सुरु भएको छ ।
बीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको पहलमा ग्रिन सिटी सामुदायिक सेवा केन्द्र, वीरगंज महानगरपालिका, स्थानीय प्रहरी प्रशासनको सक्रियतामा मितेरी पुलको मर्मत तथा जीर्ण सडक निर्माण सुरु भएको सामुदायिक केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताउनुभयो ।
रातको समयमा काम तीव्र रुपमा भई रहेको र पुल क्षेत्रको काम १÷२ दिन भित्रैमा सम्पन्न हुने गरी निर्माण कार्य अगाडी बढेको छ ।
भारतीय सरकार मातहतको पथ निर्माण विभागले १०६ मिटर लम्बाइको मितेरी पुल मर्मत कार्य सुरु गरेपछि नेपाल तर्फको सडक खण्ड पनि मर्मत गरिने भएको छ ।
वीरगंज–रक्सौल नाकालाई सौन्दर्यीकरण गर्ने अभियानका सहभागीहरूले चासो देखाएपछि उक्त पुलको मर्मत कार्यले गति लिएको छ ।
नेपाल भारत सीमामा रहेको मितेरी पुल लामो समयदेखि खाल्डाखुल्डीमा परिणत भएपछि सयौँ यात्रुलाई आवागमनमा समस्या हुँदै आएको र यसको मर्मत गरी नाकाको पुललाई समेत सिँगार्ने अभियानमा आफूहरू जुटेको केन्द्रका अध्यक्ष खेतानले बताउनुभयो ।

सन् १९९४ मा भारत सरकारको नेशनल हाइवेले उक्त पुल निर्माण गरेको थियो । तर, पुलको आधा हिस्सा दशगजा क्षेत्रमा पर्ने भएकोले दुवै देशको सरकार तथा स्थानीय सरकारहरू मर्मत–सम्भार गर्न हच्किँदै आएका थिए ।
सो बाटो भएर अहिले पनि नेपाली उद्योगको लागि कोइला, जिप्सन, क्लिकर, फलाम लगायत औद्योगिक कच्चा पदार्थ रक्सौल रेल्वे यार्डबाट नेपाल भित्रिन गरेको छ भने सयौँ पैदल यात्री, मोटरसाइकल तथा हलुका सवारी सधान, रिक्सा, टाँगालगायत आउजाउ हुने गरेको छ ।
नेपालको प्रमुख नाकाको रुपमा रहेको वीरगंज रक्सौल नाकाको सिमानामा पर्ने मितेरी पुल जीर्ण हुँदा सीमा क्षेत्रैबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटकहरूलाई सुन्दर शान्त नेपालको बारेमा भ्रम पर्ने भएको हुँदा नेपाल प्रवेश गर्ने नाकालाई धुवा धुलो तथा फोहोर, प्रदूषणबाट मुक्त गर्दै व्यवस्थित सडकसहित भारतीय पर्यटकलाई आकर्षित गर्न आफूहरूको अभियान जारी रहेको खेतानले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्