तपाईँ सुन्दै हुनुहुन्छः

पाँच सय ३३ विद्यार्थीलाई स्वास्थ्य तथा शैक्षिक सामग्री वितरण

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–६ तालामाराङस्थित श्री तेर्से माध्यमिक विद्यालयका सम्पुर्ण विद्यार्थीलाई हेल्प नेपालले स्वास्थ्य तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

हेलम्बु एजुकेशन लाइभलि हुड पार्टनरसिप नेपाल (हेल्प)को सहयोगमा बाढीबाट प्रभावित तेर्से माध्यमिक विद्यालयका ५ सय ३३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । 

शुक्रवार एक कार्यक्रमको बीच विद्यार्थीहरूलाई शैक्षिक तथा स्वास्थ्य सामग्री सहित झोला वितरण गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले  भूकम्पले थला पारेको मेलम्चीलाई फेरी पनि बाढीले थला पारेको भन्दै प्राकृतिक प्रकोपको सामना गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । 

बाढीले विद्यालयमा क्षति पुगेको उल्लेख गर्दै प्रमुख अर्यालले विद्यालय जोगाउनका लागि भएका कामको प्रशंसा गर्नुभयो ।

शैक्षिक सामग्री वितरण गर्दै हेल्पका अध्यक्ष जिमि लामाले शैक्षिक क्षेत्रमा तेर्से माविले पहिल्यैदेखि रचनात्मक र सिर्जनात्मक काम गर्दै आएको बताउनुभयो । 

साथी शिक्षक कार्यक्रमदेखि विद्यार्थीहरूको शैक्षिक तथा अन्य विषयमा सहयोग गर्दै आएको हेल्प नेपालले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने अध्यक्ष लामाले बताउनुभयो । 

गत असार १ गतेको बाढीपछि विद्यालय संरक्षणका लागि थालिएको अभियानमा पनि हेल्पले सहयोग गरेको भन्दै अहिले गरेको शैक्षिक सामग्रीले विद्यार्थीहरूलाई शैक्षिक उन्नयनका लागि थप टेवा पुग्ने अपेक्षा गर्नुभयो । 

हेल्प नेपालले अहिलेसम्म १२ वटा जिल्लाका १८ हजार भन्दा बढी विद्यार्थीको लागि शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा गरिएको कामलाई निरन्तरता दिने हेल्पले जनाएको छ । 

सोही कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निल बहादुर शाहीले सहयोगी संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभयो । 

उहाँले यस क्षेत्रमा सबैभन्दा धरै बाढीले तेर्से माविलाई क्षति गरेको उल्लेख गर्दै बाँकी रहेको विद्यालयको भवन जोगाउन गरिएको अहिले सम्मको प्रयास राम्रो रहेको स्मरण गर्नुभयो । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण ढुङ्गानाले कोरोना र बाढीबाट त्रसित बालबालिकाहरूलाई विद्यालय नियमित गर्न अझै केही केही  समस्या रहेको सुनाउनुभयो । 

उहाँले यस्ता खाले कार्यक्रमले विद्यार्थीको त्रास मेटाउन केही राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button