तपाईँ सुन्दै हुनुहुन्छः

निगम सुधारको लागि समिति गठन गर्न अर्थको सुझाव

काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल वायु सेवा निगमको भावी कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्च स्तरीय समिति बनाउन नेपाल वायु सेवा निगमलाई सुझाव दिएको छ ।     

शुक्रवार अर्थ मन्त्रालयमा आयोजित नेपाल वायु सेवा निगमका उच्च पदाधिकारीहरूसँगको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायुसेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ सम्मिलित समिति गठन गरी १५ देखि २० दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी प्रक्रिया अघि बढाउन उपयुक्त हुने सुझाव दिनुभयो । 

निगम सुधारको लागि हालसम्म भएका विभिन्न समितिले दिएका प्रतिवेदनहरू अध्ययन गरी उपयुक्त विकल्प सुझाए आवश्यक निर्णय गर्न सरकारलाई सजिलो हुने मन्त्री शर्माले बताउनुभयो ।  

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र पर्यटन सचिव यादव कोइरालाले निगम सुधारको लागि राजनैतिक तहबाटै आवश्यक निर्णय लिनुपर्ने बताउनुभयो । 

छलफलमा निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले नेपाल एयरलाइन्समा राजनैतिक हस्तक्षेप, आवश्यकताभन्दा बढी कर्मचारी भर्ती र कमजोर कानुनी व्यवस्थाका कारण निगमको वित्तीय अवस्था कमजोर बन्न पुगेको बताउनुभयो । निगम हाल ५० अर्ब ऋण तथा ११ अब सञ्चित नोक्सानीमा रहेको छ । उहाँले निगममा आवश्यकताभन्दा बढी साढे पाँच सयको कर्मचारी रहेको बताउनुभयो । 

छलफलमा राजश्व सचिव कृष्णहरि पुष्कर, अर्थ मन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती, अर्थ र पर्यटन मन्त्रालयका सहसचिवहरू सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button