जनकपुरधामको फोहर व्यवस्थापनमा वडाध्यक्षहरू सक्रिय

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा विगत केही दिन देखि बढेको फोहरको स्थायी व्यवस्थापनका विषयमा नगर क्षेत्रका वडाध्यक्षहरूले आज जनकपुरधाममा बैठक गरेका छन् ।
विभिन्न वडाका वडाध्यक्षहरूको बसेको बैठकले फोहरको दीर्घकालीन समस्याको समाधानका लागि ल्याण्डफिल साइटको निर्माण गरिनु पर्ने विषयमा छलफल भएको उपमहानगरपालिका वडा नंं ७ का वडाध्यक्ष जानकी राम साहले जानकारी दिनुभयो ।
एसियाली विकास बैङ्कको ऋण सहयोगमा जनकपुरधाममा लागु भएको एकीकृत शहरी विकास आयोजना अन्तर्गत ल्याण्ड फिल साइटका लागि २१ करोड रकम भए पनि जग्गाको व्यवस्थापन नभपछि रकम फिर्ता भएका थिए ।

उपमहानगरपालिका क्षेत्रमा सडक, ढलको निर्माण भए पनि ल्याण्डफिल साइट बन्न नसकेपछि नगरको फोहर व्यवस्थापनमा समस्या भइरहेको छ । अहिले नगरको फोहर सङ्कलन गरेर जनकपुरधाम उपमहानगरपालिकाको अतिथि गृहमा नै थुपारेर राख्ने काम गरिरहेको छ ।
यसका साथै कतिपय सडकमा फोहर उठ्न नसकेपछि सडक भएर यात्रा गर्नेहरू नाक थुनेर हिँड्नु पर्ने अवस्था रहेको छ । फोहरको दीर्घकालीन समाधानका लागि नै बैठक गरेको र बैठकका निर्णयहरू सहित प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र दिने निर्णय भएको वडा नंं ४ का वडाध्यक्ष सुदर्शन सिंहले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्