तपाईँ सुन्दै हुनुहुन्छः

महाधिवेशन सफल बनाउन प्रधानमन्त्री देउवाको आह्वान

भक्तपुर   । प्रधानमन्त्री  एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत देशव्यापी वडा अधिवेशनको सुरुवात भक्तपुरबाट गर्नुभएको छ । 

आज भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा वडा अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने बताउनुभयो ।

प्रधानमन्त्री  देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताउँदै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने जिम्मेवारी आफूहरूमा रहेको उल्लेख गर्नुभयो ।

देउवाले कोभिड १९ महामारी बढ्दो क्रममा रहेकाले आफ्नो स्वास्थ्यलाई समेत ध्यानमा राख्दै स्वास्थ्यका मापदण्ड पालना गरेर महाधिवेशनमा सहभागी बन्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले पार्टीले महाधिवेशनको प्रक्रिया सुरुवात भएको भन्दै लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्दै पार्टी थप सशक्त ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गर्दै महाधिवेशन सफल बनाउन देश तथा विदेशमा रहेका नेपाली काँग्रेसका सबै एकताबद्ध भएर लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेकपा एमालेका एक नेताले भक्तपुरमा चुनाव लड्न गरेको चुनौतीको जवाफ दिँदै प्रधानमन्त्री देउवाले आफूसँग नभई जिल्ला सभापति दुर्लभ थापालाई निर्वाचनमा हराएर देखाउन चुनौती दिनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले काँग्रेसको महाधिवेशनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले चासोका साथ हेरिरहेको बताउँदै मुलुक र पार्टीको प्रतिष्ठा कायम गरी राख्न पनि महाधिवेशन सफल बनाउनु पर्ने बताउनुभयो ।

वडा इकाई सभापति राजु ढुङ्गेलको सभापतित्व सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले भक्तपुरमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको बताउनुभयो । 

उहाँले अधिवेशनमा निर्वाचनबाट नेतृत्व चयन गर्नु पनि लोकतान्त्रिक प्रक्रिया भए पनि सौहार्दपूर्ण तरिका र स्वच्छ प्रतिस्पर्धा मार्फत नेतृत्व चयन हुने दाबी गर्नुभयो ।

काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज ५६ जिल्लामा वडा तहको अधिवेशन सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button