तपाईँ सुन्दै हुनुहुन्छः

ऊर्जा मन्त्रीद्वारा विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा जानकारी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले साझा यातायातको पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको छ । 

पुलचोकस्थित साझा यातायातको कार्यालय पुगेर उहाँले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा जानकारी लिनुभएको हो ।

सो अवसरमा साझा यातायात सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितले साझाले अगाडि बढाएका कार्यक्रम तथा योजनाबारे जानकारी गराउनुभयो । उहाँले विद्युतीय बस खरिदको अवस्था तथा बस सञ्चालनका लागि चार्जिङ स्टेसनको अवस्थाबारे बताउनुभयो । 

पहिलो चरणमा जनस्वास्थ्य, सार्वजनिक यातायात र आर्थिक हिसाबले पनि विद्युतीय बस सञ्चालनमा ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

बोलपत्र आह्वान गरेर बस खरिदको प्रक्रिया अगाडि बढेको बताउँदै अध्यक्ष दीक्षितले पहिलो चरणमा चार महिनापछि तीन वटा विद्युतीय बस आइपुग्ने जानकारी गराउनुभयो । 

चरणबद्ध रूपमा विद्युतीय बस खरिद गरेर सञ्चालनमा ल्याउने बताउँदै उहाँले सरकारले त्यसका लागि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
 जवाफमा मन्त्री भुसालले चार्जिङ स्टेशनका लागि आवश्यक पर्ने स्थानको उपयुक्त विकल्प खोज्न पहल गर्ने बताउनुभयो ।

उहाँले पहिलो चरणमा ललितपुर र काठमाडौँ महानगरपालिकाकामा विद्युतीय बस सञ्चालन गर्न लागिएको भए पनि आगामी दिनमा देशका सबै नगरपालिकामा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री भुसालले विद्युतीय बस सञ्चालनका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि पहल लिन साझा यातायातलाई आग्रह गर्नुभयो । 

उहाँले विद्युतीय सवारी साधन सञ्चालनबाट स्वदेशी कच्चा पदार्थको प्रयोग भई आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै डलरमा खरिद गरिएको एलपी ग्यास र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सबै प्रविधिलाई विस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । 

उच्च व्यापार घाटा कम गर्नका लागि पनि विद्युत् खपतलाई बढवा दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले सो कार्यका लागि समाजका सबै निकायले सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो ।

सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले विद्युतीय बस सञ्चालनमा सरकारका तर्फबाट सहयोग हुने र आगामी दिनमा उपयुक्त तवरले संरचना खडा गरेर अगाडि बढ्न सबै निकायले पहल गर्नुपर्ने बताउनुभयो ।


त्यसैगरी सञ्चलन समितिका सदस्य भूषण तुलाधरले विद्युतीय बसेको खरिद प्रक्रिया र लागतबारे जानकारी गराउनुभयो । उहाँका अनुसार करबाहेक एउटा बस खरिदका लागि रु एक करोड पाँच लाख पर्नेछ । कर, चार्जर र पाँच वर्षको मर्मत खर्चसहित प्रति बस रु एक करोड ५२ लाख लाग्नेछ । 

यो लागत रकम साझाको प्रारम्भिक अनुमानभन्दा २७ प्रतिशतले कमी हो । पहिलो चरणमा रु ६१ करोडको लागतमा ४० वटा बस खरिद गर्न लागिएको छ । साझाले आह्वान गरेको बोलपत्रमा ९ वटा चिनियाँ कम्पनी सहभागी भएका थिए । त्यसमध्ये सिएचटिसी किनवेन (नान्जीङ) अटो मोबाइल कम्पनीले छनोट भएर बस खरिद प्रक्रिया अगाडि बढेको हो । 

तुलाधरका अनुसार अबको चार महिनामा तीन वटा बस नेपाल आएर परीक्षण सुरु हुनेछ । सम्झौताअनुसार एक पटक ब्याट्री चार्ज गर्दा २०० किलोमिटर गुड्छ । बसमा १६१ किलोवाट प्रतिघण्टाको ब्याट्री जडान गरिनेछ । ब्याट्री चार घण्टामा चार्ज हुनेछ ।


पछिल्लो समय सरकारले साझामा रु तीन अर्बको सेयर लगानी गरेको छ । सो रकम साझाको खातामा आइसकेको छ । साझाले आगामी सन् २०२५ सम्म सबै डिजेल बसलाई विद्युतीय बसमा परिणत गर्ने नीति लिएको छ । 

हाल साझाले ७१ वटा ठुला बस सञ्चालन गर्दै आएको छ । साझाले पुल्चोकको २२ रोपनी क्षेत्रफलमा ‘साउथ एसिया सेन्टर’ स्थापना गर्ने योजनासमेत बनाएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button