तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा सामूहिक माछा पालन गर्दै नेकपा विप्लव कार्यकर्ता

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पार्टीको खर्च धान्नका लागि नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका कार्यकर्ता सामूहिक माछा पालनमा संलग्न भएका छन् ।

दुई वटा पोखरी भाडामा लिएर पार्टीमा आबद्ध कार्यकर्ताले माछा पालन व्यवसाय सुरु गरेका हुन् । नगरपालिकाको वडा नं ४ मा १६ कट्ठा क्षेत्रफलमा फैलिएका दुई पोखरीमा माछा पालनका लागि तीन हजार भुरा छाडिएको छ ।

‘माछा पालन गरेबापत दुई वटै पोखरीको वर्षको रु ४० हजार भाडा दिने सम्झौता गरेका छौँ’ पार्टीका नगर इन्चार्ज धनबहादुर रानाले भने, ‘माछा पालन व्यवसाय अगाडि बढाउनका लागि खटिएका छौँ ।’ पार्टीले चन्दा सङ्कलनको कार्यलाई सहायक र सामूहिक उत्पादनलाई मुख्य बनाएपछि उत्पादन प्रणालीमा पार्टी कार्यकर्तालाई जोडेर लैजाने कार्य भइरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार माछा पालन कार्यका लागि ४० जना कार्यकर्ताको समूह निर्माण गरिएको छ । पोखरी व्यवस्थापन गर्ने, चारोको व्यवस्था गर्ने र बजारमा लगेर बिक्री गर्नका लागि अलग/अलग टोली निर्माण गरिएका छन्। माछा पालनका लागि  तोकिएको कार्य पार्टीका कार्यकर्ताले पालो मिलाएर काम गर्दै आएका छन् ।

माछा पालनमा खटिने कार्यकर्तालाई पारिश्रमिक र पोखरी व्यवस्थापनका लागि केही रकम राखेर बाँकी रकम पार्टी सञ्चालनका लागि खर्च गर्ने योजना बनाइएको छ । यसै गरी, शुक्लाफाँटा नगरपालिका ८ पिल्लरीफाँटामा दुई बिघा जग्गा भाडामा लिएर व्यावसायिक आलु खेती गर्ने योजना बनाइएको छ ।

नगर इन्चार्ज रानाले त्यसका लागि जग्गाको व्यवस्था भइसकेको बताए । आउँदो हिउँदमा आलु खेतीको कार्यलाई अगाडि बढाइने बताइएको छ । व्यावसायिक आलु खेती गर्नका लागि पार्टीका ५५ जना कार्यकर्ताको समूह निर्माण गरिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button