प्रा डा थापालाई प्रसिद्ध विकास लेखन सम्मान
काठमाडौँ । विकासविद् एवं लेखक प्रा डा नरविक्रम थापालाई विसं २०७८ को ‘प्रसिद्ध सहभागीमूलक विकास लेखन सम्मान’ प्रदान गरिने भएको छ ।
नेपालमा सहभागितात्मक विकास तथा गरिबी निवारणको विषयमा वकालत गर्दै यसको पद्धति, प्रविधि र विविध सरोकारमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका उहाँलाई सो सम्मान प्रदान गरिने भएको हो ।
प्रा डा थापाका गरिबी निवारण, सहभागीमूलक विपद् व्यवस्थापन, खाद्य सुरक्षा र अर्थराजनीति, किसानको नेतृत्वमा कृषि, दिगो जीविकोपार्जन र जैविक विविधता, अनुगमन तथा मूल्याङ्कन विधि, अनुसन्धान पद्धतिजस्ता विषयमा दर्जनभन्दा बढी कृति प्रकाशित छन् । हाल उहाँ जावलाखेलस्थित इन्टरनेसनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नामक संस्थामा आबद्ध हुनुहुन्छ ।
हरेक वर्ष नेपानबाट प्रदान गरिने सम्मान पत्रसहित रु १० हजार राशिको सो सम्मान प्राप्त गर्ने उहाँ चौथो व्यक्ति हुनुहुन्छ । यसअघि विसं २०७५ मा सहप्राध्यापक गम्भीरबहादुर हाडा, २०७६ मा द्वन्द्वविद् डा विष्णुराज उप्रेती र २०७७ मा डा मानबहादुर विकेले यो सम्मान प्राप्त गरिसक्नुभएको छ ।
नेपाल सहभागीमूलक कार्यसमूह (नेपान) का निवर्तमान अध्यक्ष चेतनाथ कणेल परिवारले आफ्नो स्व सुपुत्र प्रसिद्ध कणेलको स्मृतिमा विसं २०७४ मा रु एक लाखको अक्षयकोष राखी सोको ब्याजबाट विसं २०७५ देखि हरेक वर्ष एक जना लेखकलाई सम्मान प्रदान गरिँदै आएको नेपानका अध्यक्ष झविन्द्र भण्डारीले बताउनुभयो ।
नेपानको २७औँ वार्षिक साधारणसभाका अवसरमा आउँदो भदौ १९ गते एक समारोहबीच सो सम्मान प्रदान गरिने नेपानले जनाएको छ । नेपान सञ्जालमा हाल सातै प्रदेशका करिब साढे तीन सय विकासकर्मी सदस्य रहेका छन् । रासस








प्रतिक्रिया राख्नुहोस्