तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा काँग्रेसको चुनावी सरगर्मी बढ्यो, भोलि वडा अधिवेशन

तनहुँ । नेपाली काँग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४औँ महाधिवेशनको तिथि नजिकिँदै गएको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यति बेला नेपाली काँग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन कार्य तालिका अनुसार यही भदौ १८ गते वडा तहको अधिवेशन हुँदै छ । दुई सङ्घीय र चार प्रदेश निर्वाचन क्षेत्र, १० स्थानीय तह र ८५ वडा रहेको तनहुँमा नयाँ नेतृत्व पाउने भएकाले यति बेला तनहुँ काँग्रेसका नेता तथा कार्यकर्ता उत्साही देखिएका छन् ।

तनहुँ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्य शङ्कर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल लगायत प्रभाशाली नेताको जिल्ला भएकाले समेत जिल्लाको माहोल अन्य जिल्ला भन्दा भिन्न रहेको छ । चोकदेखि चिया पसलसम्म अहिले काँग्रेसको चुनावी चर्चा रहेको छ ।

भदौ १८ मा वडा अधिवेशन

पूर्वनिर्धारित कार्यतालिका अनुसार देशभरका सबै वडामा यही भदौ १८ मा काँग्रेसको नेतृत्व चुनिनेछन् । वडामा चुनिने नेतृत्वसँगै पालिका, प्रदेश र जिल्ला अधिवेशनमा भाग लिन पाउने प्रतिनिधिसमेत छनोट हुने भएकाले जिल्लाको नेतृत्वदायी पदमा आकाङ्क्षी देखिएका नेतासमेत आन्तरिक बैठक, छलफल र भेलामा जुटेका छन् ।

पार्टी केन्द्रले तनहुँमा तोकिएका जिल्ला मुख्य निर्वाचन अधिकृत फणीन्द्र कोइराला निर्वाचन सामग्रीसहित जिल्लामा आएर आवश्यक तयारी सुरु गर्नुभएको छ । तनहुँमा आइपुग्नु भएका मतदान अधिकृत फणीन्द्र कोइरालाले मतदान प्रणालीबारे जिल्ला नेतृत्वलाई जानकारी गराउनु भएको छ । उहाँले सहायक मतदान अधिकृतका रुपमा डिएलए तनहुँका अध्यक्ष चन्द्रकान्त वाग्ले र प्राध्यापक केशवराज काफ्लेलाई सहायक अधिकृत नियुक्त गर्नुभएको छ ।

तनहुँ काँग्रेसले वडा अधिवेशनको निर्वाचनका लागि नेपाल शिक्षक सङ्घमा आबद्ध शिक्षकलाई परिचालन गर्ने निर्णय गरेको र सोही बमोजिम वडा वडामा तयारी सुरु भइसकेको नेपाली काँग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिनुभयो ।

‘‘पार्टीको तर्फबाट सम्बन्धित तहका नेता, कार्यकर्तालाई जानकारी गराउने काम भइसकेको छ, पार्टी केन्द्रबाट क्रियाशील सदस्यता टुङ्गिएर आइसकेको छ, मुख्य निर्वाचन अधिकृतले वडामा परिचालन हुने शिक्षकलाई आवश्यक प्रशिक्षण र सहजीकरण गरेपछि आवश्यक सामग्रीसहित सबै वडामा निर्वाचन टोली परिचालन हुन्छन्’’– उहाँले भन्नुभयो ।

जिल्ला बाहिर रहेका पार्टीका नेतासमेत वडा अधिवेशनका लागि गाउँ फर्किएपछि चहलपहलसमेत बढेको छ । वडा तहमा निर्वाचन अधिकृतको टुङ्गो लगाइसकिएको र उनीहरूलाई पार्टीको जिल्ला नेतृत्व र निर्वाचन अधिकृतमार्फत आवश्यक निर्देशनसहित निर्वाचन सामाग्रीसहित परिचालनको तयारी भएको पार्टीका कार्यवाहक सभापति आलेले जानकारी दिनुभयो ।

तनहुँ काँग्रेसमा १४ हजार ५१४ क्रियाशील सदस्य

तनहुँमा वडा अधिवेशनमा कूल १४ हजार ५१४ जनाले भाग लिन पाउने छन् । पार्टी केन्द्रले सार्वजनिक गरेको क्रियाशील सदस्यको विवरण अनुसार तनहुँ काँग्रेसमा पुराना नवीकरण भएका ६ हजार ९३५ र नयाँ थप भएका ७ हजार ५७९ जना क्रियाशील सदस्यले मात्रै वडामा उम्मेदवार र नेतृत्व चयनमा मतदानको अधिकार पाउने कार्यवाहक सभापति आलेले बताउनुभयो ।

काँग्रेसले सार्वजनिक गरेको क्रियाशील सदस्यता विवरणअनुसार तनहुँको व्यास नगरपालिकामा ४४७०, भानु नगरपालिकामा २३१३, शुक्ल गण्डकी नगरपालिकामा १ हजार ९८९, भिमाद नगरपालिकामा १ हजार ४१, देवघाट गाउँपालिकामा ४१२, आँबुखैरेनी गाउँपालिकामा ४०९, बन्दिपुर गाउँपालिकामा ८३१, म्याग्दे गाउँपालिकामा १ हजार ३८४, घिरिङ गाउँपालिकामा ४७८, ऋषिङ गाउँपालिकामा १ हजार १८७ जना क्रियाशील सदस्य रहेका छन् ।

हरेक वडामा हुने अधिवेशनका लागि सहमतिमा सर्वसम्मत नेतृत्व चयनको लागि प्रयास हुने र सहमति नभएमा चुनावबाट चुन्ने गरी निर्वाचन समितिले तयारी गरेको छ ।

काँग्रेसमा नयाँ संरचनामा पहिलो पटक हुन लागेको महाधिवेशनमा वडा, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला समितिमा समेत अधिकांश पद प्रत्यक्ष निर्वाचनबाट चुनिने व्यवस्था गरिएको छ । तीनै तहमा सभापति एक, उपसभापति, सचिव र सहसचिव दुई–दुई जना प्रत्यक्ष निर्वाचित हुने र निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष मनोनीत गर्ने गरी पदाधिकारीको छनोट गर्ने नयाँ प्रावधान राखिएको छ ।

वडा अधिवेशनले वडाका ८ पदाधिकारी र सदस्यसमेत गरी २३ जनाको कार्यसमिति चयन गर्नेछ । यसमा वडा सभापतिले २० प्रतिशतसम्म सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।

त्यसै गरी वडाबाट पालिका, प्रदेश निर्वाचन र जिल्ला अधिवेशन प्रतिनिधिको रुपमा १५ र सभापतिसमेत गरी १६ जनालाई प्रतिनिधिको रुपमा छनोट हुनेछन् ।

पालिका, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनका लागि वडाबाट चुनिने प्रतिनिधि नै निर्णायक हुने भएकाले यति बेला वडा स्तरमा व्यापक बहस र छलफलले व्यापकता पाएको छ ।

आगामी नेतृत्वका लागि जिल्लामा स्पष्ट दुई धारमा प्रतिस्पर्धा हुने सङ्केत देखिएपछि दुवै पक्षले आफ्नो पक्षका नेता कार्यकर्तालाई प्रतिनिधिमा जिताएर ल्याउन आन्तरिक कसरत सुरु गरेका छन् ।

यस पटक जिल्लामा काँग्रेसको बढ्दो शक्तिका कारण वडा तहमा निर्वाचन हुनसक्ने कांग्रेसजनको आङ्कलन छ । काँग्रेसले गाउँ÷नगरको भदौ २७ गते, प्रदेश निर्वाचन क्षेत्रमा असोज १ गते र जिल्लाको असोज ५ गते अधिवेशनको कार्य तालिका बनाएको छ ।

जिल्ला सभापतिको चर्चा

काँग्रेसको जिल्ला नेतृत्वमा आधा दर्जनको दाबेदारी छ । निवर्तमान सभापति वैकुण्ठ न्यौपाने, कार्यवाहक सभापति जितप्रकाश आले, जिल्ला सचिव विश्व बास्तोला, पूर्व सचिव प्रा डा कृष्णप्रसाद गौतम, जिल्ला सचिव लक्ष्मी आचार्य, महासमिति सदस्य रामचन्द्र अधिकारी लगाएतको जिल्ला सभापतिमा चर्चा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button