नारायणी अस्पतालमा जडान गरिएको स्वचालित अक्सिजन प्लान्टको उद्घाटन

बीरगंज । मध्य तराईकै सर्वसाधारण बिरामीको उपचारको केन्द्रको रुपमा रहेको नारायणी अस्पतालमा आजबाट स्वचालित अक्सिजन प्लान्ट जडान भई सञ्चालनमा आएको छ ।
समाजसेवी स्वर्गीय चिरञ्जीवी लाल सरावगीको स्मृतिमा नारायणी अस्पतालमा जडान गरिएको स्वचालित अक्सिजन प्लान्टको आज एक कार्यक्रमका बीच उद्घाटन गर्दै पूर्व मन्त्री एवं पर्सा क्षेत्र नम्बर २ का सांसद विमल श्रीवास्तवले पहिलो र दोस्रो कोरोना सङ्क्रमणको महामारीमा अक्सिजन नपाएर सङ्क्रमितहरूको हृदय विदारक अवस्थामा मृत्यु भएको र अक्सिजन प्लान्टको जडानसँगै अब नारायणी अस्पतालमा यस्ता घटना नदोहोरिने विश्वास व्यक्त गर्नभयो ।
पूर्वमन्त्री श्रीवास्तवले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर आफूले संसदीय विकास कोषको बजेट अक्सिजन प्लान्ट स्थापनामा लगाएको बताउनुभयो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले आफ्नो बुवा स्वर्गीय चिरञ्जीवी लाल सरावगीको स्मृतिमा पूर्वमन्त्री विमल श्रीवास्तवको संसदीय विकास कोष र वीरगंज महानगरपालिकाको सहयोगमा झन्डै दुई करोडको लागतमा अक्सिजन प्लान्ट स्थापना गरिएको बताउनुभयो ।
बीरगंजस्थित नारायणी अस्पतालमा पर्सा जिल्लाका मात्रै नभई बारा, रौतहट, सर्लाही, सिराहासम्मका बिरामीको चाप खेप्दै आएको र यसलाई मध्यनजर गरी कोरोना सङ्क्रमणकै बेला स्वचालित अक्सिजन प्लान्ट स्थापना भएसँगै अब बिरामीहरूको उपचार सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.वीरेन्द्र प्रधानले बताउनुभयो ।

नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र लाभको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्