तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बिहीबार

file photo

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेल जित्नकै लागि खेल्ने बताउनुभएको छ । 

प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित्नकै लागि खेल्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । 

उहाँले नेपाल भन्दा भारत निकै बलियो भए पनि इतिहासलाई नहेरी भविष्यका लागि खेल्ने बताउनुभयो । 

उहाँले भारतविरुद्ध नेपालको विगतमा राम्रो नतिजा नभए पनि त्यसले खासै असर नपर्ने जानकारी दिनुभयो । भविष्यलाई ध्यानमा राखेर तयारीसमेत गरिरहेको र दुवै खेलमा जित हासिल गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।  

नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । त्यसमा भारतले १३ खेल जित्दा नेपालले दुई खेल मात्रै आफ्नो पक्षमा पारेको छ । त्यस्तै नेपाल र भारतीचका चार खेल बराबरीमा सकिएको इतिहास छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भोलि नेपालले भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ । त्यस्तै नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ  ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म हुनेछ ।

प्रशिक्षक अलमुताइरीले आफ्नो टोलीको मुख्य लक्ष्य पनि साफ च्याम्पियनसिप नै भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button