पत्रकार देवदास श्रेष्ठको स्मृतिमा पुरस्कार वितरण

दोलखा । नेपाल पत्रकार महासङ्घ दोलखाका संस्थापक सभापति देवदास श्रेष्ठको १६औँ स्मृति दिवसको अवसरमा दोलखा शाखाले बुधवार स्मृति सभा तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ ।
स्मृति सभाको अवसरमा कोरोना सङ्क्रमणका कारण हालै निधन भएको शाखाका सदस्य क्रियाशील पत्रकार रवीन्द्र गौतमको स्मृतिमा रवीन्द्र स्मृति पत्रकारिता पुरस्कार २०७८ को घोषणा समेत गरिएको छ ।

उक्त पुरस्कारबाट प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्केलाई पुरस्कृत गरिएको छ ।
त्यसैगरी शाखाका संस्थापक सभापति स्वर्गीय देवदास श्रेष्ठको स्मृतिमा स्थापना गरिएको स्व. देवदास श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट क्रियाशील पत्रकार सन्तोषी कार्कीलाई पुरस्कृत गरिएको छ ।
शाखाको पहलमा स्थापना गरिएको विकास पत्रकारिता पुरस्कारबाट रेडियो भीमेश्वरका स्टेसन मेनेजर गोकर्ण भण्डारी, स्व.इन्द्रमणी राजभण्डारी पत्रकारिता पुरस्कारबाट दक्षिण दैनिकका सम्पादक श्रृजन घिमिरे, सुजल पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका दोलखा संवाददाता बाबुराम शर्मा र स्व. पशुपति चौलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कारबाट दोलखाको तामाकोसी गाउँपालिकाबाट प्रसारण हुँदै आएको तामाकोसी एफएमका स्टेसन मेनेजर दिपक बस्नेतलाई पुरस्कृत गरिएको छ ।

उक्त पुरस्कारहरू भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले पुरस्कृत पत्रकारहरूलाई वितरण गर्नु भएको थियो ।
नेपाल पत्रकार महासङ्घ दोलखा शाखाका अध्यक्ष दीप शङ्कर चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, सामुदायिक रेडियो प्रसारक संघका पूर्व केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासङ्घ दोलखाका पूर्व अध्यक्ष उद्धव पोखरेल, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश सदस्य श्याम खतिवडा, प्रेस चौतारी दोलखाका संयोजक प्रभु जिरेल, नेपाल पत्रकार महासङ्घ दोलखाका उपाध्यक्ष सृजना थापा खड्का, सचिव दिलबहादुर केसी, जिल्ला सहकारी सङ्घ दोलखाका अध्यक्ष हेमन्त चौलागाई र समाजसेवी रामदास श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो ।









प्रतिक्रिया राख्नुहोस्