सञ्चारकर्मीको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्छ : सञ्चार सचिव अर्याल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सञ्चार गृहले आफ्ना सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि विषय केन्द्रित तालिम दिनुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस इस्टिच्युटले आज आयोजना गरेको नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा कोभिड–१९ ले पारेको असर विषयक राष्ट्रिय गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा सचिव अर्यालले सङ्क्रमणको जोखिमका बीच पनि पत्रकारहरूले अग्रपंतिमा रहेर काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।
भर्चुअल प्रविधि मार्फत भएको कार्यक्रममा सचिव अर्यालले पत्रकारिता क्षेत्रको विकासका लागि सरकार सधैँ लागिपर्ने भन्दै पत्रकारका लागि बजेट मार्फत गरिएको व्यवस्था छिट्टै कार्यान्वयनमा लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रेस इस्टिच्युटका कार्यवाहक अध्यक्ष मन्टेश्वरी राजभण्डारीले पत्रकारका समस्या समाधानका लागि सरकारलगायत सबै क्षेत्रको हातेमालो आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा विभिन्न प्रदेशका पत्रकार महासङ्घका अध्यक्षहरूले पत्रकारिता तथा सञ्चार उद्योगमा कोभिड–१९ ले पारेको असर विषयक कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्