तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड प्रभावित जुम्लाका ३५५ व्यवसायीको पुनर्स्थापना राहत पाउँदा खुसी

गाउँमै खुद्रा व्यापार गर्दै आएका लुम गाउँका रमेश बुढा, तस्बिर  सागर : परियार ।

जुम्ला । खुद्रा व्यापारबाटै घर खर्च, छोराछोरीको पढाई र नुन तेल गर्दै आएका पातारासी–५ लोर्पाका रमेश बुढाको रोजीरोटी कोरोनाले खोसेको थियो । विगत ४ वर्षदेखि गर्दै आएको व्यापारबाट बुढाले हात धुनु पर्ने स्थिति नै आयो । एकातिर कोरोनाको त्रास र अर्कोतर्फ बढ्दै गएको व्यापार घाटाले किस्ता कसरी तिर्ने भन्ने चिन्ता थपियो । तर किर्डाक नेपाल व्यवसाय पुनर्स्थापनाका लागि सहयोग गरेपछि उनको व्यापार फेरी फस्टाएको छ ।

त्यस्तै पातारासी ७ की चन्द्रमाया थापाले पनि जुम्ला रारा जाने सडकको उर्थुमा खुद्रा व्यापार गर्दै आउनु भएको थियो । रारा जाने छोटो मार्ग भएकाले उर्थु पटमारा सडकबाट दैनिक सयौँ पर्यटक तथा स्थानीयको आवतजावत हुने भएकाले व्यापार राम्रै थियो । 

तर पहिलो र दोस्रो चरणको कोरोनाले थापाको व्यापारमा गिरावट आएपछि घाटा बेहोर्नु परेको थापाको भनाई छ । घर खर्च, लुगाफाटो फेर्ने एक मात्र माध्यम खुद्रा व्यापार ठप्प भएपछि चिन्तामा रहेकी चन्द्रमाया थापालाई पनि किर्डाक नेपालले व्यवसाय पुनर्स्थापनाका लागि सहयोग गरेपछि उहाँको व्यापार केही महिनामै फेरी फस्टाएको छ । 

लोर्पाका व्यापारी रमेश बुढाले भन्नुभयो,“कोरोनाले व्यापार घाटामा थियो । ऋण तिर्नै मुस्किल भएको अवस्थामा फेरी आफ्नै लगानीले व्यापार सुचारु गर्न सम्भव नै थिएन । तर किर्डाक नेपालले सहयोग गरेर व्यापारमा उत्साह थप्यो । अनि राहत महसुस भएको छ ।” अहिले थप आफ्नो लगानी गरेर व्यवसायमै जुटेको र घाटामा परेको व्यापार पुनर्स्थापना गर्न थोरै भए पनि सहयोग र ऊर्जा थपिदिएको बुढाले खुसी व्यक्त गर्नुभयो । 

यता चन्द्रमाया थापाले सहयोग पाएपछि कोरोना कहरमा पनि हाल व्यापार निरन्तर सञ्चालन भएको बताउनुभयो । किर्डाकबाट प्राप्त सहयोगले दोब्बर कमाई गरेर पनि सामाग्री थपेको उहाँको भनाई छ । 

कोभिड प्रभावित व्यवसायी पुनर्स्थापित भएका रमेश र चन्द्रमाया एक उदाहरण मात्र हुन् । वल्डभिजनको सहकार्यमा किर्डाक नेपाल जुम्लाद्वारा सञ्चालित (एकिकृत पोषण तथा उत्थानशील परियोजना) मार्फत कोरोनाबाट प्रभावित जुम्लाका ३ सय ५५ जना व्यवसायीलाई पुनर्स्थापना गरिएको छ । 

परियोजना सञ्चालन भएको पातारासी, तातोपानी र तिला गाउँपालिकाका ३ सय ५५ जना कोभिड प्रभावित व्यवसायीलाई पुनर्स्थापना गरिएको किर्डाक नेपाल जुम्लाका फिल्ड कार्यक्रम प्रबन्धक भेष बहादुर रावलले बताउनुभयो ।  

उहाँका अनुसार कोभिड प्रभावित व्यवसायीलाई वडाको सिफारिसमा सहयोग गरिएको थियो । सामाग्री सहयोग सहित व्यापार सञ्चालन र लेखाजोखा सम्बन्धी तालिम समेत प्रदान गरिएको फिल्ड कार्यक्रम प्रबन्धक रावलको भनाई छ ।

कोभिड प्रभावित पुनर्स्थापित भएका व्यवसायहरूको अनुगमन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले व्यवसाय प्रवर्द्धन,स्थानीयको आयआर्जन वृद्धि तथा पोषण स्थितिमा सुधार, उत्पादन वृद्धि लगायतका क्षेत्रमा किर्डाकले उल्लेखनीय काम गरेको बताउनुभयो । 

व्यवसाय पुर्नस्थापनमा १ करोड लगानी

जुम्लाका कोभिड प्रभावित व्यवसायीको पुनर्स्थापनाका लागि किर्डाक नेपालले करिब १ करोड बढी बजेट लगानी गरेको छ । (एकिकृत पोषण तथा उत्थानशील परियोजना) मार्फत व्यवसाय पुनर्स्थापना लागि पातारासी, तिला र तातोपानीमा गरी १ करोड ४० लाख १४ हजार ८ सय रुपैयाँ लगानी गरिएको फिल्ड कार्यक्रम प्रबन्धक भेष बहादुर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार व्यवसायको प्रकृति अनुसार १६ हजार देखि ५० हजार सम्मको सामाग्री सहयोग गरिएको छ । 

पोषण स्थिति सुधार आयआर्जन वृद्धिका लागि जुम्लाका ४ सय ४२ जना किसानलाई ७० लाख ७५ हजार बराबरको कृषि सामाग्री वितरण गरिएको समेत रावलको भनाई छ । साथै, जुम्लाका १ हजार ६७ जनालाई ३१ लाख ६० हजार ८० सय बराबरको राहत उपलब्ध गराइएको छ । 

किर्डान नेपालको तथ्याङ्क अनुसार कोभिड प्रभावित १ सय ९७ खुद्रा व्यापार, १६ वटा होटल व्यवसाय, १ ग्रिल उद्योग, ६ वटा फलफूल प्रशोधन, ११ वटा फर्निचर उद्योग, ४ वटा फ्रेश हाउसलाई पुनर्स्थापना गर्न लगानी गरिएको छ । 

त्यस्तै, ५६ जना बाख्रा पालन व्यवसायीलाई ५० हजार दरका हिसाबले सहयोग गरी व्यवसाय पुनर्स्थापना गरिएको छ । भने ५ वटा आरन व्यवसाय, ४ वटा भैसीपालन व्यवसाय, २१ जनाको सिलाई कटाई व्यवसाय, स्याउ नर्सरी, इलेक्टोनिक, मोबाइल मर्मत लगायत १९ प्रकारका व्यवसायको पुर्नस्थापनका लागि लगानी गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button