सराङकोटको पर्यटन विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सराङकोटको पर्यटन विकासमा निजी क्षेत्रको भूमिका अब्बल रहेको बताउनुभएको छ । आइतबार सराङकोट धार्मिक एवं पर्यटन विकास समितिले बनाउँदै गरेको भ्यूटावर र शिव मन्दिरको अवलोकन गर्दै मन्त्री थापाले सो क्षेत्रमा पर्यटकको आकर्षण बढाउनका लागि निजी क्षेत्रबाट ठूलो लगानी भइरहेको उल्लेख गर्नुभयो ।
उहाँले पर्यटन क्षेत्रको विकास क्रममा प्रदेश सरकार निजी क्षेत्रसँग समन्वय गर्दै अगाडि बढिरहेको जानकारी गराउनुभयो । ‘लेकसाइड देखि सराङकोट सम्म पुग्ने गरी अन्नपूर्ण केबलकारको समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको छ’, उहाँले भन्नुभयो,‘यो अत्यन्तै स्वागतयोग्य र सह्रानीय छ । यसले पर्यटकको आकर्षणमा थप टेवा पुग्दछ । हामी निजी क्षेत्रसँग साझेदारी गर्दै अगाडि बढ्नेछौँ । ’
निजी क्षेत्रको लगानीलाई सुरक्षित गर्ने गरी सहज नीति बनाउन स्थानीय सरकारलाई उहाँको आग्रह समेत गर्नु भयो । सराङकोट क्षेत्रमा ठुला होटल तथा रिर्सोटको सञ्चालन हुँदा पर्यटकका लागि एक दिन भए पनि भुल्ने वातावरण सिर्जना भएको मन्त्री थापाको भनाई छ ।
उहाँले पर्यटकको लागि अथाह सम्भावना बोकेको सराङकोट क्षेत्रलाई व्यवस्थित बनाउन निर्माण हुँदै गरेको भ्यूटावर र शिव मन्दिरले अझ आकर्षण बढाउने बताउनुभयो । मन्त्री थापाले भन्नुभयो, ‘भ्यूटावरलाई व्यवस्थित बनाउने कार्य अत्यन्तै सह्रानीय छ । यसले पर्यटकको आकर्षण थप बढाउँछ । अहिले भ्यूटावर पुग्न भर्याङ्ग बनाइएको रहेछ । बिस्तारै लिफ्ट समेत जडान गरी अपाङ्गमैत्री बनाउनुपर्छ । धार्मिक पर्यटकका लागि शिव मन्दिर निर्माण गर्ने कार्य पनि जारी छ । पोखराको धार्मिक पर्यटनको क्षेत्रमा समेत सराङकोटको भूमिका महत्त्वपूर्ण रहने विश्वास गरेको छु ।’
उहाँले भ्यूटावरकै आडमा रहेको नेपाल टेलिभिजनको टावरले दृश्यावलोकनमा समस्या हुने भन्दै त्यसको स्थानान्तरण सँगै उचित व्यवस्थापनमा लाग्न समितिलाई अनुरोध गर्नुभएको छ ।
पोखरा १८ जामुनेबोटमा स्थापना गरिएको सहिद पार्क पर्यटक भुलाउने अर्को एउटा स्थलका रुपमा साबित भएको मन्त्री थापाको भनाई छ । वडामा प्रहरी चौकीको कार्यालय निर्माण गर्नका लागि दुई रोपनी जग्गा समेत प्राप्त भइसकेको हुँदा निर्माण कार्यलाई तीव्रता दिई सुरक्षाका दृष्टिकोणबाट समेत सराङकोटलाई सबल बनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
मन्त्री थापाले आइटी पार्कको लागि पनि ९६ रोपनी जग्गा प्राप्त भएको र निर्माणका लागि प्रदेश सरकारबाट आव २०७८ र ०७९ मा १ करोड ७० लाख विनियोजन गरिएको जानकारी गराउनु भएको छ ।
पोखरा १८ लाई पर्यटकीय हबको रुपमा विकास गर्न बिस्तारै सबै कुराको व्यवस्थापन गर्दै लैजानुपर्ने आवश्यकतालाई उहाँले जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्