तपाईँ सुन्दै हुनुहुन्छः

बेपत्ता परिवारद्वारा जिप्रकामा ज्ञापन पत्र

जनकपुरधाम । माओवादी सशस्त्र द्वन्दको समयमा राज्य पक्ष तथा माओवादीद्वारा बेपत्ता पारिएकाहरू अहिलेसम्म पनि बेपत्ता रहेको भन्दै अवस्था सार्वजनिक गर्न माग गरिएको छ ।


बेपत्ता दिवसको अवसरमा धनुषा जिल्लाबाट बेपत्ताका परिवारहरूले सास वा लासको माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापन पत्र बुझाएका छन् । सार्वजनिक बिदा भए पनि प्रमुख जिल्ला अधिकारी बास्तोलाले ज्ञापन पत्र बुझ्नुभएको छ । 


मुलुक सङ्घीयतामा गएको र प्रदेश सरकार गठन भएको ४ वर्ष बित्दा पनि सरकारले बेवास्ता गरेको गुनासो पीडितहरूको छ । सङ्घीय सरकारलाई करिब डेढ दशक बढी समयदेखि ज्ञापन पत्र दिएर अवस्था सार्वजनिक गर्नका लागि माग गरे पनि बेवास्ता हुँदै आएको पीडितहरूको भनाइ छ । 


पीडित परिवारले राज्यबाट १० लाख रुपैयाँ बुझ्ने बाहेक केही नभएको भन्दै बेपत्ता परिवारका सदस्य प्रकाश यादवले अहिले पनि अवस्था अज्ञात नै हुनु दुःखद भएको बताउनुभयो । सोधखोज गर्दा कतैबाट पनि कुनै किसिमको जवाफ नपाइएको यादवले जानकारी दिनुभयो ।


धनुषाबाट द्वन्दकालको क्रममा १६ जना बेपत्ता भएका थिए । जसमध्ये धनुषाको गोदारमा शव उत्खनन गर्ने क्रममा ५ जनाको शव भेटिएको थियो । त्यसपछि अहिलेसम्म पनि ११ जनाको अवस्था अहिलेसम्म पनि अज्ञात नै रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button