अछाममा विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिन शुरु

अछाम । अछाममा विद्यार्थीहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । जिल्लाका ४ ठाउँबाट विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताउनुभयो ।
जिल्ला सदरमुकाम मङ्गलसेन, कालागाउँ, विनायक र श्रीकोट गरी ४ ठाउँबाट करिब १५ सय डोज कोरोना विरुद्धको खोप विद्यार्थीलाई लगाइएको उहाँले बताउनुभयो । पञ्चदेवल क्याम्पस तथा विद्यामन्दिर माध्यमिक विद्यालय विनायक, कैलाश बहुमुखी क्याम्पस तथा अन्नपूर्ण मावि कालागाउँ, अछाम बहुमुखी क्याम्पस तथा षोडशादेवि मावि मङ्गलसेन एवं त्रिपुरा सुन्दरी क्याम्पस तथा माध्यमिक विद्यालय श्रीकोट मार्फत १८ बर्ष पूरा भएका विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइएको हो ।
हाल जिल्लामा जोन्सन एण्ड जोन्सन तथा अस्ट्राजेनिकाका खोप रहेको र उक्त खोपबाट विद्यार्थीलाई लगाउन शुरु गरिएको उहाँको भनाई छ । हाल जिल्लामा कक्षा ११ र १२ मा अध्ययनरत २५ सय बढी तथा क्याम्पसमा गरी करिब ५ हजार विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई अछामले जनाएको छ ।
उपलब्ध भएको खोप अहिले लगाइने र बाँकी रहेका विद्यार्थीहरूलाई खोप उपलब्ध भएपछि अर्को चरणमा दिइने जिल्ला स्वास्थ्य कार्यालय अछामका खोप सेवा प्रमुख झपटराज ढुङ्गानाको भनाई छ ।
खोपले क्याम्पसले सञ्चालन गर्ने परीक्षा लगायतका कार्यमा राहत हुने र खोप पाउँदा विद्यार्थी खुशी भएका अछाम बहुमुखी क्याम्पसका सहायक प्रमुख ध्रुवकुमार शाहीको भनाई छ । षोडशा माविका प्रधानाध्यापक मदन बहादुर कुँवरले विद्यालयले सञ्चालन गर्ने टोल शिक्षा लगायतका कार्यमा खोपले राहत पुर्याउने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्