दुई दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अझै सञ्चालनमा आउन सकेन

पाल्पा । दुई दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।
शनिवारदेखि नै राजमार्गको विभिन्न स्थानमा दर्जनभन्दा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको हो ।
सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका–८ डुम्रेमा माथिबाट आएको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताउनुभयो ।
सोमबार बिहानबाटै सडक खुलाउने प्रयास भइरहे पनि वर्षाका कारण समस्या भएको त्वातीले बताउनुभयो ।
“डुम्रेमा बाटोको ट्याक खुले पनि गाडी फस्ने हिलोले समस्या परेको छ । डुम्रेभन्दा तल पनि पहिरो गएकाले यति नै बेला सडक खुल्छ भनेर भन्न सक्ने अवस्था छैन ।उहाँले भन्नुभयो ।
पहिरोले आइतबार दुई तल्ले पक्की घर बगाएको छ भने अन्य तीन घर जोखिममा परेका छन् ।
राजमार्ग अवरुद्ध भएपछि सयौँ गाडी तथा यात्रुबीच बाटोमा अलपत्र परेका छन् ।
बुटवलबाट शनिबार गुल्मी गएर आइतबार बुटवल फर्किन लाग्नुभएका बुटवलका कृष्ण नेपालले दुई दिनदेखि पाल्पामै थुनिनु परेको दुखेसो गर्नुभयो ।
बाढी र पहिरोले पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा सडक अवरुद्ध हुँदा पश्चिम नेपालका अधिकांश जिल्लाबाट राजधानी जाने सवारी अहिले पाल्पा हुँदै काठमाडौँ जाने गरेका छन् ।
जसले गर्दा बीच बाटोमै अलपत्र पर्ने यात्रु बढी देखिएको डुम्रेका स्थानीय केशव घिमिरेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्