केरा खेतीले मिलेको सुख : वार्षिक ५० लाखको कारोबार, २० लाख मुनाफा

चितवन । उमेरले ३२ वसन्त पार गरेका युवा अमृत अमगाई लायन्स चोक नारायणगढको पुरानो सब्जीमण्डीमा बिहानै पाकेको केरा होलसेलमा बेच्दै थिए । दुई वटा सटर भाडामा लिएर केराको होलसेल व्यापार गर्दै आइरहेका अमगाई आफै पनि केरा उत्पादक किसान हुन् ।
पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ सूर्यपुर, प्रगति टोल निवासी अमगाईले यही व्यवसायबाट लाखौँको आम्दानी गर्दै आइरहनुभएको छ ।
पाँचबर्ष अघिदेखि ७ बिगाहा जमिन भाडामा लिएर गरेको केरा खेती र केराकै होलसेल व्यापारले आफूलाई सफलता मिलेको अमगाई बताउनुहुन्छ ।
पृथ्वी मा.वि. भटेनीबाट २०६२ सालमा प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण गरेका अमगाई कुनै समय आर्थिक अवस्था कमजोर भएकै कारण विदेश पलायन हुनुपरेको बताउनुहुन्छ ।
नेपाल मा.वि. को १२ कक्षासम्मको पढाई सकेर वैदेशिक रोजगारीका लागि कतार पुगेका अमगाईलाई विदेशले नदिएको सुख आफ्नै करेसाबारीले दिएको बताउनुहुन्छ ।

पढाइमा अब्बल भएर पनि रोजगारी नमिलेपछि बाध्यताले ६ वर्ष कतार बसेर घर फर्किएका अमगाई कतारमा रहँदा मासिक ७८ हजार नेपाली रुपैंया कमाउने गर्दथे । के.एफ.सी. कम्पनीका सवारी चालक अमगाई यत्तिखेर भने स्वदेशमै राम्रो कमाई गरिरहनुभएको छ ।
पढाई पुरा गर्ने र देशमै केही गर्नुपर्छ भन्ने सानोदेखिको साेंचले विदेशमा बस्न मन लागेन, उहाँले भन्नुभयो । घरको ऋण तिरिसकेपछि नेपाल फर्केर उहाँले केरा खेती र व्यवसाय दुवै गर्दै आइरहनुभएको छ । बैङ्कबाट सहुलियत ऋण समेत लिई कृषि पेसा गर्दै आएका अमृतले वार्षिक ५० लाख भन्दा बढीको कारोबार गर्ने गरेको बताउनुभयो । सबै खर्च कटाएर वार्षिक २० लाख रूपैयाको हाराहारीमा कमाई हुनेगरेको उहाँले बताउनुभयो ।
पढाइमा अब्बल अमगाईले कृषि कर्मको अतिरिक्त आफ्नो पढाईलाई निरन्तरता दिइरहेका छन् । आफूले पढेर डिग्री पास गर्ने धोको रहेको भन्दै विदेशबाट फर्किएर २०७४ सालमा विरेन्द्र क्याम्पसमा समाजशास्त्र विषयमा स्नातक तहमा भर्ना भएका थिए । उनी रेगुलर स्नातक पास समेत भए । गत हप्ता मात्र प्रकाशित परीक्षाफलमा आफू स्नातक पास हुँदा साह्रै खुसी लागेको उहाँले बताउनु भयो । साथीभाइहरूले फेसबुकमा पास भएको बधाई दिँदा हर्षले आँखाबाट आशु आएको समेत उहाँले बताउनुभयो । साथै उहाँले नियमित रूपमा अध्ययन गरी डिग्रीसम्मको अध्ययन पुरा गर्ने लक्ष्य रहेको समेत बताउनुभयो ।
बुबा पदम प्रसाद अमगाईको मौरी पालन व्यवसायमा समेत सहयोग गर्दै आउनुभएका उहाँ सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । कालिका जेसिजका संस्थापक कार्यकारिणी उपाध्यक्ष तथा हाल महासचिव रहेर उहाँले काम गर्दै आइरहनुभएको छ । ७ वर्षका छोरीका बुबा अमृतको हरेक काममा श्रीमतीको साथ उत्तिकै रहेको छ ।

विदेशको राम्रो कमाई भन्दा पनि आफ्नो माटोमा केही गर्नुपर्छ भन्ने भावनाले कृषि क्षेत्र रोजेको उहाँले बताउनुभयो । हरेक बिहान उनी नारायणगढको सब्जीमण्डीमा केरा व्यापारसँगै मौसम अनुसार सुन्तला र तरकारीको समेत विक्री गर्ने गरेको बताउनुहुन्छ । बिहानको खाना खाइसकेपछि दिनभर केरा खेतीको गोडमेल तथा केरा काट्नुका अतिरिक्त ओसार्ने काम समेत उनले आफैले गर्ने गर्दछन् । छिमेकी किसानहरूको समेत केरा खरिद गरी उहाँले आफ्नै मण्डीबाट विक्री गर्ने गरेको बताउनुहुन्छ । बेलुकाको खाना खाएपछि मात्र उहाँले आफ्नो अध्ययन थाल्ने बताउनुभयो । महिनामा १–२ दिन भन्दा बढी क्याम्पस जान नभ्याउने उहाँले घरमा नै स्वअध्ययन गरी नियमित रूपमा परीक्षामा उत्तीर्ण हुँदै आउनुभएको छ ।
आफूलाई किसानी पेसा गरेको भन्दा गर्वको महसुस हुने समेत उहाँले बताउनुभयो । केरा खेती गर्दा समयमा नै मल नपाउने, रोगको समस्या र भाडामा जग्गा पाउन मुस्किल हुँदा केरा खेतीलाई वृद्धि गर्न नसकेको उहाँले दुखेसो पोख्नुभयो । भारतबाट आउने केरा लगायतका कृषिजन्य पदार्थले देशभित्र भएका उत्पादनले राम्रो बजार नपाएको समेत उहाँले दुखेसो पोख्नुभयो । सरकारले किसानको हितका लागि यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्