हाप्किडोको राष्ट्रिय बन्द प्रशिक्षण पोखरामा शुरु

पोखरा । वर्ल्ड हाप्किडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेलाडीहरूको बन्द प्रशिक्षण पोखरामा सुरु भएको छ ।
आगामी कार्तिक ५ देखि ७ गते सम्म रसियाको सेन्ट पिटर्सवर्गमा आयोजना हुने वर्ल्ड हाप्किडो च्याम्पियनसिपमा सहभागिताका लागि पोखरामा बन्द प्रशिक्षण शुरु गरिएको नेपाल मार्सल आर्ट्स सङ्घ, हाप्किडोका अध्यक्ष काली बहादुर घर्तीमगरले बताउनुभयो ।
पोखरा रङ्गशालामा बन्द प्रशिक्षणमा देशभरिका २० जना खेलाडी सहभागी भएका छन् ।
बन्द प्रशिक्षणको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले केही सीमित व्यक्तिहरूले खेलकुदलाई सोखको रुपमा मात्र प्रयोग गर्नाले नेपाली खेलकुद पछि परेको बताउनुभयो ।
प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले मार्सल आर्ट खेल आत्मरक्षाको लागि उपयुक्त खेल भएको बताउँदै हाप्किडो खेललाई नवौँ राष्ट्रिय खेलकुदमा समावेश गर्न केन्द्रमा पहल गर्न सुझाव दिनुभयो ।
राज्यको ढुकुटीले मात्रै खेलकुद विकास सम्भव नहुने भन्दै परिषद्ले आगामी एक दशकभित्र प्रतिस्पर्धा बाट छनोट भएर सिधै ओलम्पिकमा सहभागिता जनाउन सक्ने खेलाडी उत्पादनमा लाग्ने योजना रहको उहाँले बताउनुभयो ।
बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई नेपाल मार्सल आर्ट्स हाप्किडोका वरिष्ठ प्रशिक्षक काली बहादुर घर्ती मगर, प्रमुख प्रशिक्षक सुष्मिता गुरुङ, सहायक प्रशिक्षक द्वय भुवन बुढा मगर र प्रवीण गुरुङले प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाल मार्सल आर्ट्स सङ्घ हाप्किडो गण्डकीका अध्यक्ष एमवि आस्थाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्