कोभिडको तेस्रो लहरको पूर्वतयारी गर्न मुख्यमन्त्री शाक्यको निर्देशन

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री एवम् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकी कुलपति अष्टलक्ष्मी शाक्यले कोभिडको तेस्रो लहरको पूर्वतयारी गर्न निर्देशन दिनुभएको छ । आइतबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौँडा अस्पतालको अवलोकनका क्रममा मुख्यमन्त्री शाक्यले उहाँले अस्पतालको विकासमा प्रदेश सरकार सकारात्मक रहेको भन्दै कोभिडको पूर्वतयारी गर्न निर्देशन दिनुभएको हो ।
सो अवसरमा प्रतिष्ठानकी कुलपति शाक्य र सामाजिक विकास मन्त्री एवम् प्रतिष्ठानका सहकुलपति कृष्ण खनाललाई प्रतिष्ठानका पदाधिकारीहरूले स्वागत गरेका थिए । हेटौँडा अस्पतालमा एक परिचयात्मक कार्यक्रम गर्दै प्रतिष्ठान र हेटौँडा अस्पतालका कर्मचारीहरूले प्रतिष्ठानको कुलपति समेत रहनुभएका मुख्यमन्त्री शाक्य र सहकुलपति खनाललाई स्वागत गरेको प्रतिष्ठानका सदस्य उत्सव चौलागाईले बताउनुभयो । सोही अवसरमा हेटौँडा अस्पतालले कोभिडको तेस्रो लहरको पूर्वतयारी अनुरूप बच्चाको लागि एनआइसियू, भेन्टिलेटर, बेड थप, अक्सिजन लगायतको बारेमा मुख्यमन्त्री शाक्यलाई अवगत गराएको उहाँले जानकारी दिनुभयो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदेशको मुख्यमन्त्री कुलपति हुने प्रावधान छ भने सामाजिक विकास मन्त्री सहकुलपति हुने प्रावधान रहेको छ । भाद्र २ गते बागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै स्वतः उहाँ प्रतिष्ठानको कुलपति बन्नुभएको थियो । यसअघिका मुख्यमन्त्री डोरमणि पौडेल कुलपति रहँदा प्रतिष्ठानको संरचना, कानुन निर्माण लगायतको कामहरू भएको थियो । यसै गरी हेटौँडा अस्पतालमा प्रतिष्ठानले थप सेवाहरू सञ्चालन गर्दै आएको थियो ।
प्रतिष्ठानले अस्पतालमा डायलासिस सेवा, मनोविज्ञान परामर्श, कोभिड आइसोलेसन सेन्टर लगायतको सेवा दिँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्