तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाले घर भत्कियो, पहिरो खस्दा बेनी–जोमसोम–कोरला सडक बन्द

म्याग्दी । लगातारको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा एउटा घर भत्किएको छ । वर्षाले हिजो शनिवार राति रत्नेचौरका प्रितीबहादुर खत्री (सापकोटा) को ढुङ्गा माटोले बनेको एक तले घर भत्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घर भत्किए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । यसै गरी वर्षाकै कारण पहिरो खसेर उत्तरी म्याग्दी हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक फेरि बन्द भएको छ । सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुइँठे, रुप्से खोला र काभ्रे भिर क्षेत्रमा सडक बन्द भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख एवम् प्रहरी सहायक निरीक्षक सूर्य थापाले बताउनुभयो । अहिले पनि वर्षा भइरहेकाले सडक खुलाउन समस्या भएको छ ।

पहिरो पन्छाउनका लागि सडक आयोजनाको डोजर, एक्स्काभेटर लगायतका सामान तयारी अवस्थामा राखिएको भए पनि निरन्तर पानी परिरहेको र पहिरो खस्ने जोखिम रहेकाले काम गर्न नसकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका स्थानीय सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । 

यस्तै वर्षाकै कारण पश्चिम म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिका हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि बन्द भएको छ । यस खण्डको बेनी नगरपालिका ४ घुमाउने भिर तथा मालिका ६ दरबाङको बाङ्गे पहिरो भन्ने ठाउँमा सडकभन्दा माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर सडक बन्द भएको हो । 

यस्तै बेनी–बागलुङ सडक खण्डअन्तर्गत बेनी नगरपालिका २ खबराको भसभसेमा सडकभन्दा माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर सडक बन्द भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button