एनएमसीको सञ्चालनमा कस्टम हायरिङ सेवा शुरु

झापा । झापाको अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)–ले पूर्वमै पहिलो पटक कस्टम हायरिङ सेवा शुरु गरेको छ ।
संस्थाको तेस्रो व्यवसाय एकीकृत नमुना कृषि फर्म परिसरमा शनिबार विशेष कार्यक्रमको आयोजना गरी कस्टम हायरिङ सेवा शुरु गरिएको हो ।
प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले संयुक्त रुपमा सेवा बोर्ड अनावरण गरेर कस्टम हायरिङ सेवाको उद्घाटन गर्नुभयो ।
कस्टम हायरिङ सेवाले कृषिमा उत्पादन लागत घटाउन मद्दत गर्नुका साथै कृषि यन्त्र उपकरण प्रयोग गर्ने बानीको विकास गराउँछ ।
संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले कृषिमा यान्त्रीकरण गर्दै कृषि उपजको लागत घटाउने तथा उत्पादन बढाउने उद्देश्यका साथ कस्टम हायरिङ सेवाको सुरुवात गरिएको जानकारी दिनुभयो । संस्थाले ४१ प्रकारका ४८ वटा यन्त्र उपकरणहरूको व्यवस्थापन गरेर कस्टम हायरिङ सेवा सञ्चालनमा ल्याएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।
आर्थिक वर्ष २०७७–०७८ मा प्रदेश १ सरकारबाट एक करोड १५ लाख रुपैयाँ अनुदान प्राप्त भएको र संस्थाबाट एक करोड २२ लाख ४५ हजार रुपैयाँ लगानी गरी सेवा आरम्भ गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्