राष्ट्र बैङ्कले हवाई सेवा सञ्चालक संस्थालाई सटही सुविधा उपलब्ध गराउने
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले हवाई सेवा सञ्चालक संस्थालाई सेवा आयातका लागि सटही सुविधा उपलब्ध गराउने भएको छ ।
राष्ट्र बैङ्कले विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायहरूलाई एकीकृत परिपत्र पठाउँदै सेवा आयातका लागि २५ हजार अमेरिकी डलर बराबरको वाणिज्य बैङ्कहरूबाटै सटही सुविधा उपलब्ध गराउने नयाँ व्यवस्था गरेको हो ।
सटही सुविधा लिनका लागि कम्पनी दर्ताको प्रमाण, कर दर्ताको प्रमाण, बीलबीजकको प्रमाणित प्रतिलिपि लगायत सात किसिमका कागजपत्र आवश्यक पर्ने राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कले कोभिड १९ पछिको परिस्थितिमा नवीकरणका लागि निवेदन पेस गर्ने तथा गराइसकेका विदेशी मुद्राको कारोबार गर्न इजाजत पत्र प्राप्त संस्थाहरूको म्याद एक वर्षका लागि निःशुल्क थप गर्ने समेत जनाएको छ ।
यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको सिफारिसमा कोभिड १९ सँग सम्बन्धित औषधिजन्य सामग्री तथा स्वास्थ्य उपकरण आयातमा एउटै विजकबाट एक लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा सटही तथा भुक्तानी गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्