तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय चालकद्वारा चक्काजाम, आवतजावत ठप्प

बीरगंज । कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले भारतीय नम्बरको सवारी साधन निर्बाध रुपमा बीरगंज प्रवेशमा रोक लगाएको विरोधमा आज मितेरी पुलमा भारतीय सवारी चालकहरूले चक्का जाम गरेका छन् । 


नेपाल भारत सीमावर्ती मितेरी पुलमा भारतीय सवारी चालकहरूले चक्का जाम गरेपछि नेपाल भारत तर्फको आवतजावत ठप्प भएको छ । 


नेपाली नम्बर प्लेटका मोटरसाइकल निर्बाध रुपमा भारतको रक्सौलतर्फ सञ्चालन हुने गरेको र भारतीय नम्बर प्लेटका मोटरसाइकल वीरगन्जतर्फ सञ्चालनमा रोक लगाइएको तथा भारतीय टेम्पु, ई रिक्सा, टाँगा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले मितेरी पुल यता सञ्चालनमा रोक लगाएको भन्दै आक्रोशित उनीहरूले बिहान ११ बजेदेखि चक्का जाम गरेका हुन् ।


विगतमा निर्बाध रुपमा सञ्चालन हुँदै आएको सवारी साधनमा रोक लगाइएपछि भारतीय सवारी चालकहरूले रक्सौलमा पनि नेपाली मोटरसाइकल सञ्चालनमा रोक लगाउनुपर्ने माग गर्दै यातायात ठप्प पारेको रक्सौलका ई रिक्सा चालक मनोज कुमार साह कानुले बताउनुभयो । 


यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले मन्त्री परिषद्को निर्णय अनुसार सीमा क्षेत्रमा हुने आवत जावत नियन्त्रण गरिएको र नेपाल तर्फका सवारी साधनहरू पनि शङ्कराचार्य गेटसम्म सञ्चालन हुने र भारतीय सवारी साधनहरू समेत मितेरी पुलसम्म आउन पाउने अवस्था रहेको बताउनुभयो । 


उहाँले विगत डेढ महिना यता बीरगंज रक्सौल नाका हुँदै आउने नेपालीहरूको परिक्षण गर्दा एक जनाको पनि एन्टिजेन परिक्षण पोजेटिभ नआएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button