तपाईँ सुन्दै हुनुहुन्छः

१० लाख ६३ हजार बढी हुन्डीको रकमसहित दुई जना पक्राउ

बीरगंज । १० लाख ६३ हजार भन्दा बढी हुन्डीको रकमसहित प्रहरीले पर्साको जानकी टोलबाट दुई जनालाई पक्राउ गरेको छ । 


जगरनाथपुर गाउँपालिका वडा नम्बर २ स्थित सडक खण्डमा नियमित चेकजाँच गर्दा भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको मोटरसाइकलको सिटमुनि लुकाई छिपाई ल्याइरहेको अवस्थामा श्रोत खुलाउन नसकेको १० लाख ६३ हजार ६ सय २० रुपैयाँ नेपाली र १ हजार ६ सय भारतीय रुपैयाँसहित उनीहरू पक्राउ परेका हुन् ।


पक्राउ परेका भारत विहार पश्चिम चम्पारण इनर्वा बजार बस्ने ४५ वर्षीय चालक वृजकिशोर गिरी र पर्सा धोबिनी गाउँपालिका वडा नम्बर २ गुलरिया टोल निवासी ५० वर्षीय रामपुकार पटेललाई इलाका प्रहरी कार्यालय पोखरीयाको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो । 


शनिवार साँझ पक्राउ गरिएका गिरी र पटेलमाथि वित्तीय कारोबार ऐन–२०७५ विरुद्धको कसुरमा थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको डिएसपी खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button