तपाईँ सुन्दै हुनुहुन्छः

माछा पालन व्यवसायमा रमाउँदै युवा

बर्दिया । पेसाले कृषि व्यवसायी भन्न रुचाउने २८ वर्षीय नदिम राइन हाल माछा पालनमा व्यस्त हुनुहुन्छ  । 

बर्दिया धर भएका राइन हाल गुलरिया नगरपालिका –६, मा बस्नुहुन्छ । उहाँले वि.सं. २०७५ सालमा माछा पालनको व्यवसायी  सुरुवात गर्नुभएको थियो । 

हालसम्म उहाँले करिब (४ बिगाहामा ) ढाइ हेक्टरमा ठूलो मात्रामा माछा पालन गर्नु भएको छ । 

पेसाले उहाँ बिजुली बत्तीको काम गर्ने भए पनि रेडियो टेलिभिजन र पत्रपत्रिकामा माछा पालन सम्बन्धी लेख रचना हेरेर आफूले पनि केही गर्न सक्छु भन्ने दृढ सङ्कल्प लिएर माछा पालन व्यवसाय सुरु गरेको राइन  बताउनुहुन्छ ।

“बिजुली बत्तीको मेकानिकल कामबाट धर परिवार पाल्न धौ धौ भएको र ठूलो परिवारका कारण जीवनयापनमा पनि कठिनाइ हुन्थ्यो । आम्दानी पनि निकै कम हुन्थ्यो ।” उहाँले भन्नुभयो , “कहिलेकाहीँ अब मैले पनि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उत्साह आउँथ्यो तर के गर्ने लगानी कसरी लगाउने सधैँ अलमल्लमा पर्थे ।” उहाँले सुनाउनुभयो । 

सानै उमेरमा जिम्मेवारी बोक्नुभएका राइनले हाल ८ जनालाई माछा पालनमा रोजगारी दिनुभएको छ भने धर परिवारकालाई समेत काम दिएर पनि उहाँले अहिले लाखौँ आम्दानी गर्दै आउनुभएको छ ।

आफ्नो १ बिगाहा र भाडामा लिएको ३ बिगाहा जमिनमा उहाँले अहिले धान खेती छोडेर माछा पालन व्यवसायमा गर्नुभएको छ । 

माछा पालनबाट छोटो समयमा राम्रो आम्दानी लिन सकिने भएकाले परम्परागत खेती गर्दै आउनुभएका राइनले (राइन माछा फर्म तथा भुरा बिक्री केन्द्र )फर्म दर्ता गरी व्यावसायिक रुपमा माछा पालन व्यवसाय अँगाल्नुभएको हो । 

उहाँको फर्ममा हाल रोहु, नैनी, सिलवट, बिघेड, कमनर ग्राससहित करिब ३० हजार माछा रहेको राइन बताउनुहुन्छ ।

पासपोर्ट बनाएर भिसा समेत लागिसकेको र वैदेशिक रोजगारमा जान भनी हिँडेका राइन काठमाडौँको केही दिनको बसाइमा टेलिभिजनको विज्ञापनले आफूलाई नै बदलिदिएको र जीवनमा आफूले पनि आफ्नै ठाउँमा केही गर्न सक्छु भन्ने लागेर विदेश जान छोडेर आफूले माछा पालन व्यवसायमा हात हालेको राइन  बताउनुहुन्छ ।

आफूले कुनै पनि तालिम नलिएको पत्रपत्रिका, रेडियो युट्युब तथा अन्य माध्यमबाट माछा पालन बारे सिकेको बताउनुहुन्छ उहाँ । 

माछाका भुरा, माछामा काम गरिरहनुभएका राइन जसको कुल लगानी हालसम्म ३५ लाखभन्दा बढी भएको बताउनुहुन्छ  । 

बर्दियाको गुलरियामा सबैभन्दा ठूलो र बढी माछा पोखरी भएको राइन बताउनुहुन्छ ।  

पोखरीमा रहेका माछालाई बिक्रीमा केही समस्या नरहेको र बाँके, सुर्खेत, कैलाली लगायतका जिल्लामा सजिलै बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ ।

वैकल्पिक पेसाका रुपमा माछा पालनलाई रोजे र माछा पालन सुरु गरेको छोटो समयमै राम्रै आम्दानी भएकोले यसलाई व्यावसायिक रुपमा अँगाल्दै आइरहेको उहाँले बताउनुभयो । 

माछा बिक्रीबाट मात्रै गतबर्ष करिब ७ लाख आम्दानी भएको, ४ विगाह क्षेत्रफलमा ४ वटा ठूलो र ३ वटा साना पोखरी ३० लाखभन्दा बढी खर्च भएको उहाँ बताउनुहुन्छ ।

यता जागिर पनि खान नसकेको र पसलमा पनि खासै ध्यान नदिने भतिजाले के गर्ला र? भन्ने नदिमका काका मुसीर राइन अहिले निकै खुसी हुनुहुन्छ ।  

भतिजको  प्रगतिमा उहाँ पनि दङ्ग हुनुहुन्छ ।  “मैले पनि उसलाई साथ दिएको छु  ।” म त प्राय जसो यतै पोखरीतिर नै बस्छु काम दिएको छ भतिजाले भन्दै राइनका काकाले मुसुक्क हाँस्दै भन्नुभयो  ।

राइनको माछा फर्ममा हाल ८ जनाले  रोजगारी पाएका छन् । २८ वर्षको उमेरमा कसरी यो क्षेत्रमा लागियो भन्ने प्रश्नमा ? राइनले भन्नुहुन्छ, “विदेश हिँडेको थिए खै के भयो काठमाडौँबाट फर्किए अनि केही समयपछि माछा पालना रोजे र म अहिले आफ्नो काममा सन्तुष्ट पनि छु ।”

माछा पालन गर्न चाहने कृषकहरूको लागि सरकारी निकायबाट सहयोगको पनि त्यत्तिकै आवश्यकता छ । अहिलेसम्म कुनै पनि निकायले सहयोग नगरेको र  सरकारी फर्मले कृषकहरूको स्थानीय स्तरमै  सहज तरीकाले  माछाका भुराहरू किन्न पाउने वातावरण मिलाइदिनुका साथै इन्सोरेन्सको व्यवस्था गरिदिएको भए अझै राम्रो हुने राइन बताउनुहुन्छ । 

सुरुमा पोखरीलगायत अन्य संरचना बनाउनलाई बढी खर्च लागे पनि पछि धेरै खर्च नलाग्ने र मिहेनत कम हुने भएकाले पनि आफूलाई माछा पालन मन परेको उहाँले बताउनुभयो । 

थोरै लगानी र कम समयमै माछा पालनबाट मनग्य आम्दानी हुने भएकाले माछा पालन व्यवसाय गर्न राइन सुझाउ दिनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button