मनाङका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन

मनाङ । हिमाली जिल्ला मनाङका अधिकांश सरकारी कार्यालयहरू यत्तिखेर प्रमुखविहीन छन् ।
कतिपय सरकारी कार्यालय भने कार्यालय सहयोगीकै भरमा खुलिरहेका छन् । अधिकांश सरकारी कार्यालय प्रमुख विहीन बनेपनि सो को जानकारी प्रमुख जिल्ला अधिकारीलाई नै छैन । अनुमति र समन्वयबिना कार्यालयका प्रमुखहरूले जिल्ला छाडेपछि सेवाग्राही भने मारमा परेका छन् ।
जेठ ३१ को भीषण बाढी पहिरोका कारण सिङ्गो जिल्ला नै क्षतविक्षत रहेका बेला अधिकांश कार्यालय प्रमुखले जिल्ला छोडेपछि सास्ती खेप्नु परिरहेको सेवाग्राही बताउँछन् । विभिन्न बहानामा जिल्ला बाहिर बसेका कार्यालय प्रमुखहरूमा अधिकांश चल्तीका सरकारी कार्यालयहरु नै छन् ।हाल जिल्ला समन्वय अधिकारी, मालपोत, घरेलु तथा साना उद्योग, निर्वाचन, सिँचाइ, पूर्वाधार विकास, कोष तथा लेखा नियन्त्रकको कार्यालय, विद्युत् प्राधिकरण, स्वास्थ्य, अस्पताल, आयुर्वेद, सशस्त्र प्रहरी कार्यालयका प्रमुखहरू अहिले मनाङमा छैनन् ।
यस्तै, खानेपानी, शिक्षा इकाई, नापी, डिभिजन वन कार्यालयका प्रमुख पनि जिल्लामा छैनन् । मनाङमा २८ सरकारी कार्यालयहरू छन् । चामे, मनाङ ङिस्याङ, नार्पाभूमि र नासों गाउँपालिकाका प्रमुख प्रशासकीयसमेत अहिले जिल्ला बाहिर नै छन् । जिल्लाका सरकारी कार्यालयहरुमा मात्र हैन स्थानीयको अवस्था पनि जिल्लाको भन्दा भिन्न छैन । नार्पाभूमि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुक्मांगत उपाध्याय लामो समयसम्म कार्यालयमा उपस्थित नभएपछि उहाँ विरुद्ध कारबाही प्रक्रिया नै सुरु भएको छ । प्रशासन कार्यालय मनाङले उपाध्यायमाथि कारबाही भइरहेको जनाएको छ । कारबाहीका लागि उपाध्यायलाई मन्त्रालय तानिएपछि निमित्तको जिम्मेवारी पाएका दीपेन्द्र पण्डित पनि कार्यालय गएका छैनन् ।
साउन १६ मा आमाको निधन भएपछि घर गएका मनाङ ङिस्याङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकाल पनि जिल्ला फर्किएका छैनन् । चामे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्द पनि कार्यालयमा भेटिएनन् । नासों गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विश्वबन्धु रेग्मी सरुवा भएका छन् । सशस्त्र प्रहरी बल नं। ३२ गुल्म, चामे मनाङका डिएसपी होमनाथ पन्थीको पनि सरुवा भइसकेको छ । मनाङको हुलाक कार्यालय पनि यत्तिखेर कार्यालय सहयोगीको भरमा चलिरहेको छ । मालपोत कार्यालयको अवस्था पनि उस्तै छ । त्यहाँ एक जना कम्प्युटर अपरेटर र कार्यालय सहयोगी मात्र अहिले छन् ।
जिल्ला प्रशासन कार्यालयले राखेको नियमित कार्यालय प्रमुखको बैठकमा अधिकांश कार्यालय प्रमुखहरु उपस्थित नभएपछि मनाङका कार्यालय प्रमुखको तथ्य बाहिर आएको हो । बुधवार बोलाएको बैठकमा अधिकांश कार्यालयका तर्फबाट दोस्रो र तेस्रो तहका कर्मचारी तथा सहयोगी उपस्थित भएका थिए । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सोही बैठकपछि मात्र आफूलाई पछि मात्र आफूले कार्यालय प्रमुखहरू जिल्लामा नरहेको थाहा पाएको बताउनुभयो । ‘धेरै कार्यालयका प्रमुख नदेखिएपछि बैठकमै सोधपुछ भयो,’ उहाँले भन्नुभयो, ‘विभिन्न मन्त्रालय, घरायसी काम, प्रगति समीक्षा, कार्यालयको काम देखाउँदै धेरै जसो कार्यालय प्रमुखहरू जिल्ला बाहिर रहेको पाइयो ।’ उहाँले यस विषयमा छानबिन गरी तत्काल आवश्यक कारबाही गरिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्