तपाईँ सुन्दै हुनुहुन्छः

मौसमी रुघाखोकी भनेर बस्दा कोरोना रहेछ भने जोखिम बढ्छ : डा.बास्तोला

काठमाडौँ । नेपालमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिरहेको र उस्तै लक्षणसहितको मौसमी रुघाखोकीका बिरामी समेत बढ्न थालेका छन् ।  

कोरोना भाइरससँग मिल्दो लक्षण भएको मौसमी रुघाखोकीका बिरामी बढेपछि आफूखुसी एन्टिबायोटिक तथा कडा खालका औषधि सेवनको प्रयोग बढ्न थालेको छ । 

मौसमी रुघाखोकी वा अन्य कुनै पनि किसिमका रोग लागेमा चिकित्सकको सिफारिसमा मात्रा औषधि प्रयोग गर्न जनस्वास्थ्य विद्हरूले सुझाव दिएका छन् । 

गत वर्ष लकडाउन खुले लगत्तै कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या बढे पनि यो वर्ष भने लकडाउन खुलेसँगै मौसमी रुघाखोकीका बिरामी बढेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.आशिष श्रेष्ठले जानकारी दिनुभयो । 

अस्पतालहरूमा उपचारका लागि आउने बिरामीले रुघाखोकीको लक्षण देखिने बित्तिकै आफूखुसी एन्टिबायोटिक औषधिको प्रयोग गरेको पाइएको डा.श्रेष्ठले बताउनुभयो । 

डा. श्रेष्ठ भन्नुहुन्छ “हामीले देखेका बिरामीमा एन्टीबायोटिक औषधि बढी प्रयोग भएको पाएका छौँ, कोरोना र मौसमी दुवै भाइरसलाई एन्टीबायोटिकले काम गर्दैन, सिजनल फ्लुमा पनि एन्टीबायोटिक औषधिको प्रयोग बढेकाले यसलाई रोक्न हामी सबै सजक हुनुपर्छ ।”

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. अनुप बास्तोलाले मौसमी रुघाखोकी र कोरोना भाइरसको लक्षण मिल्दोजुल्दो हुने भएकाले लक्षण देखिनसाथ कोरोना परिक्षण गर्न सुझाव दिनुभयो  ।

मौसमी रुघाखोकी लाग्दा एक्कासि ज्वरो आउने, अचाक्ली टाउको दुख्ने, शरीर दुख्ने, सुख्खा खोकी लाग्छ र केही दिनमा निको हुन्छ । तर कोरोना सङ्क्रमणमा सामान्य रुघा खोकी, ज्वरो र घाटी खसखस भएर सुरु हुने र पाँचौँ छैठौ दिनमा निमोनिया भएर श्वास फेर्न कठिन हुने, स्वा स्वा बढ्ने जस्ता लक्षण देखिन्छ  । 

डा. श्रेष्ठ भन्नुहुन्छ “हामीले देखेका बिरामीमा एन्टीबायोटिक औषधि बढी प्रयोग भएको पाएका छौँ, कोरोना र मौसमी दुवै भाइरसलाई एन्टीबायोटिकले काम गर्दैन, सिजनल फ्लुमा पनि एन्टीबायोटिक औषधिको प्रयोग बढेकाले यसलाई रोक्न हामी सबै सजक हुनुपर्छ ।”

त्यसैले यस्ता लक्षण देखिनासाथ कोरोना परिक्षण गरी सिकिस्त हुनबाट जोगिन डा. बास्तोलाले आग्रह गर्नुभयो । डा. बास्तोला भन्नुहुन्छ “परिक्षण नगरी बस्दा एक्कासि सिकिस्त हुने र अस्पतालमा बेड नपाउने र ज्यानै जाने खतरा हुन्छ, मौसमी रुघाखोकी भनेर बस्दा कोरोना रहेछ भने जोखिम बढ्छ । कोरोनाको परिक्षण पीसीआर रिपोर्टले सुरक्षित रुपमा बस्न सहयोग पुर्‍याउँछ ।” 

मौसमी रुघाखोकी पनि भाइरस कै कारणले हुने र ब्याक्टेरियाको इन्फेक्सन हुँदा मात्र एन्टिबायोटिक प्रयोग हुने भएकाले कोरोना भाइरस तथा मौसमी रुघाखोकीमा एन्टिबायोटिक प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्ने डा.बास्तोला बताउनुहुन्छ । 

चिकित्सकको सल्लाहविना एन्टीबायोटिकको प्रयोग गर्दा यसका साइड इफेक्टहरु हुने, भविष्यमा अन्य औषधिले काम नगर्ने हुँदा अनावश्यक प्रयोग गर्न नहुने डा. बास्तोलाले सुझाव दिनुभयो । 

समुदाय स्तरमा भएको कोरोना महामारीका कारण अहिले पनि अस्पतालका आइसियु र अन्य बेडहरू भरिभराउ भएकाले मौसमी रुघाखोकी र कोरोना भाइरसको लक्षण देखिने बित्तिकै परिक्षण गरी थप सतर्कता अपनाई सिकिस्त हुनबाट जोगिन र अरूलाई जोगाउन सकिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button