तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारको सुरक्षाप्रति राज्यले ध्यान दिनु पर्छ : प्रदेश सञ्चारमन्त्री साह

वीरगंज । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले सञ्चार क्षेत्रमा देखिएका समस्यालाई व्यवस्थित रुपमा हल गर्दै पत्रकारको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा मन्त्रालयले ठोस कार्यक्रम ल्याउने बताउनु भएको छ । 

आज वीरगंजमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले रौतहटको घटनाले पत्रकारको सुरक्षाप्रति पनि राज्यले विशेष ध्यान दिनु पर्ने आवश्यकता देखिएको बताउनुभयो ।

उहाँले समानुपातिक रुपमा विज्ञापन वितरण नगरेर विगतमा आफ्ना आसेपासे, निकटका व्यक्ति तथा दलाली गर्नेलाई मात्र विज्ञापन दिने प्रथालाई आफूले तोडेर आवाज विहीन जनताको पक्षमा आवाज उठाउने मिडियालाई  विज्ञापन दिने नीति अवलम्बन गरिने बताउनुभयो । 

उहाँले प्रदेश २ मा धेरै सञ्चारमाध्यम सङ्कटमा परेको आफूले देखेको बताउँदै अब प्रदेशमा आवश्यकता अनुसार चल्ने सक्ने पूर्वाधार भएका छापा तथा रेडियो, टिभीलाई मात्रै सञ्चालनको अनुमति दिने नीति ल्याइने जानकारी दिनुभयो । 

सञ्चारमन्त्री साहले  च्याउ उम्रिएझैँ खुलेका मिडियाहरूलाई व्यवस्थित गर्न प्रदेश सरकारले मिडिया काउन्सिल मार्फत काम गर्ने जानकारी दिनु हुँदै विगतमा के भयो, भन्ने तर्फ भन्दा अब के गर्नु पर्छ भन्ने तर्फ आफू लागेको बताउनुभयो । 

कार्यक्रममा नेकपा माओवादीका प्रदेश नम्बर २ का इन्चार्ज गोपाल ठाकुर, माओवादी नेता छोटेलाल साह, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button